Logo

२२ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजारमा हरियाली छाएको छ, जसका कारण नेप्से परिसूचक पुनः २७ सयको मनोवैज्ञानिक बिन्दुभन्दा माथि उक्लिएको छ ।

आज बजार २७ दशमलव १९ अंकले बढेर २७०८ दशमलव ७० को विन्दुमा पुग्दा लगानीकर्ताहरूमा उत्साह देखिएको छ । परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ, जहाँ दिनभर कुल ३२६ कम्पनीको ३ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँ बराबरको उच्च कारोबार भएको छ । यस वृद्धिले कुल बजार पुँजीकरणलाई ४५ खर्ब ४७ अर्ब ९७ करोड रुपैयाँको उचाइमा पुर्‍याएको छ ।

बजारमा आज अधिकांश कम्पनीका लगानीकर्ताले कमाउन सफल भएका छन् । कुल २०१ कम्पनीको सेयर मूल्य बढ्दा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो र मोदी इनर्जीको मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । रिडी पावर र खानिखोला हाइड्रोपावरको मूल्यमा पनि झण्डै १० प्रतिशतकै हाराहारीमा वृद्धि देखिएको छ । यद्यपि, बजार बढ्दा पनि ५५ कम्पनीका लगानीकर्ताले भने गुमाउनु परेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबारका आधारमा आज जलविद्युत क्षेत्रको वर्चस्व देखिएको छ । युनियन हाइड्रोपावर ५८ करोड ७७ लाख रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहँदा राधी विद्युत्, एसवाई प्यानल, आँखुखोला जलविद्युत र एनआरएन इन्फ्रास्ट्रक्चर पनि बढी कारोबार हुने कम्पनीहरूको अग्रपंक्तिमा रहेका छन् ।

समग्रमा ११ अर्ब माथिको कारोबार र परिसूचकमा देखिएको २७ अंकको सुधारले आगामी साताका लागि बजारमा सकारात्मक संकेत गरेको विश्लेषण गरिएको छ ।


सम्बन्धित समाचार