२२ माघ,वीरगञ्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति पर्साले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लागत फारम इन्ट्री प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरेको एकदिने कम्प्युटर तालिम सम्पन्न भएको छ।
आयोगका सदस्य–सचिव राकेश झाको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा जिल्ला अध्यक्ष तबरेज अहमद प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा आयोगका विज्ञ सदस्य सन्तोष राम, सदस्य शिव नारायण राम तथा सम्बन्धित प्राविधिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष अहमदले भूमिहीन समस्या केवल प्रशासनिक विषय मात्र नभई सामाजिक न्याय र संविधानले प्रत्याभूत गरेको नागरिक अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताए। उनले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई लालपूर्जा उपलब्ध गराउने अभियान सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे।
उनले भने, “लालपूर्जा वितरणको अभियान सफल बनाउन तथ्याङ्कको शुद्धता, प्रविधिको सही प्रयोग र दक्ष जनशक्तिको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।” आज सम्पन्न कम्प्युटर तालिमले लागत फारम इन्ट्री प्रक्रियालाई छिटो, पारदर्शी र त्रुटिरहित बनाउन महत्वपूर्ण योगदान दिने विश्वाससमेत उनले व्यक्त गरे।
अध्यक्ष अहमदले लक्ष्य प्राप्तिका लागि स्थानीय तह, प्राविधिक तथा आयोगबीच समन्वय र सहकार्य अपरिहार्य रहेको स्पष्ट पार्दै तालिम प्राप्त जनशक्तिले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। साथै आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष तथा सदस्य–सचिव राकेश झाले तालिमको उद्देश्यबारे जानकारी गराउँदै लागत फारम इन्ट्री प्रक्रियामा देखिँदै आएका समस्या न्यूनीकरण गर्न र डिजिटल प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तालिम आयोजना गरिएको बताए। उनले सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न आग्रह गरे।
तालिमका क्रममा प्राविधिकहरूले लागत फारम इन्ट्री प्रक्रिया, डाटा व्यवस्थापन, प्रविधिको प्रयोग, त्रुटि सच्याउने विधि तथा प्रतिवेदन तयारीबारे व्यावहारिक जानकारी प्रदान गरेका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले तालिम उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिँदै यसले आफ्नो काममा आत्मविश्वास बढाएको बताएका छन्।
















