Logo

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आफ्नो धर्म र व्यक्तिगत आस्थालाई लिएर सामाजिक सञ्जालमा नियोजित रूपमा भ्रम फैलाइएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ ।

बिहीबार बुझाइएको उजुरीमा वाग्लेले विकिपिडिया जस्ता खुल्ला स्रोतका वेबसाइटमा एकै दिन १३५ पटकभन्दा बढी गलत विवरण प्रविष्ट गरी त्यसको स्क्रिनसट फेसबुक र एक्स (ट्विटर) मार्फत फैलाएर आफ्नो मानमर्दन गरिएको उल्लेख गर्नुभएको छ। उहाँले यस कार्यलाई सामाजिक सौहार्दता खल्बल्याउने कुनियतले गरिएको संगठित दुस्साहसको संज्ञा दिँदै प्रविधिको दुरुपयोग गरी राजनीतिक स्वार्थ सिद्ध गर्न खोज्ने राजनीतिक अधर्मीहरूको पहिचान गरी हदैसम्मको कारबाही गर्न माग गर्नुभएको छ ।

आफू हिन्दू धर्मावलम्बी भएको र आफ्नो दल सनातन सभ्यताको जगेर्ना गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै वाग्लेले धार्मिक र सांस्कृतिक विविधताप्रति रास्वपा सदैव संवेदनशील रहेको बताउनुभएको छ। बहुलवादी लोकतान्त्रिक मूल्य–मान्यता अनुसार कुनै पनि समुदाय वा व्यक्तिले असुरक्षित महसुस गर्न नहुने धारणा राख्दै उहाँले उजुरीका साथमा भ्रम फैलाइएका विभिन्न सामग्रीका लिङ्कहरू समेत प्रमाणका रूपमा बुझाउनुभएको छ। निर्वाचनको पूर्वसन्ध्यामा व्यक्तिगत आस्थालाई लिएर गरिएको यो सुनियोजित प्रहारले राजनीतिक स्तर खस्किएको र लोकतान्त्रिक अभ्यासमाथि नै चुनौती थपेको उहाँको बुझाइ छ।


सम्बन्धित समाचार