Logo

२२ माघ,काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत आवश्यक दुई करोड तीन लाख २३ हजार मतपत्रमध्ये बिहीबार बिहानसम्म ७२ लाख ६० हजार मतपत्र छपाइ भइसकेको छ।

आयोगले हालसम्म २५ जिल्लाका मतपत्रको छपाइ तथा प्याकिङ कार्य समेत सम्पन्न भइसकेको जानकारी दिएको छ। त्यस्तै, समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत आवश्यक दुई करोड आठ लाख ३० हजार मतपत्रको छपाइ पूर्ण रूपमा सम्पन्न भइसकेको आयोगले जनाएको छ।

यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि भइरहेको मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी छन्। प्रधानमन्त्रीले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानाको अवलोकन निरीक्षण गर्दै मतपत्र छपाइको अवस्था र तयारीबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

निरीक्षणका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। निर्वाचनलाई समयमै, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइएको आयोगले जनाएको छ।


सम्बन्धित समाचार