२२ माघ,काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानका छोराहरू कासिम र सुलेमान खानले पाकिस्तान जाने भिसा आवेदन रोकिएको आरोप लगाएका छन्।
कासिम र सुलेमान हाल लन्डनमा आमा जेमिमा गोल्डस्मिथसँग बस्दै आएका छन्। बुधबार सामाजिक सञ्जाल एक्समा कासिमले ९१४ दिनदेखि इमरान खानलाई एकान्त कारावासमा राखिएको र स्वास्थ्य बिग्रँदै गए पनि स्वतन्त्र चिकित्सकीय उपचारबाट वञ्चित गरिएको दाबी गरेका छन्। उनले भने, “कुनै कैदीलाई उपचारबाट वञ्चित गर्नु क्रूरता हो। आफ्ना सन्तानलाई बाबुसँग भेट्न नदिनु सामूहिक दण्ड हो।”
कासिमले अन्तर्राष्ट्रिय मानवअधिकार संस्था र सरकारहरूलाई हस्तक्षेप गर्न आह्वान गर्दै ढिला भए अपूरणीय क्षति हुनसक्ने चेतावनी दिएका छन्।
यो घटनाक्रम इमरान खानको स्वास्थ्य अवस्था र उपचार पहुँचबारे बढ्दो चिन्ताका बीच आएको हो। गत साता सरकारले इमरान खानलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) लगिएको स्वीकार गरेको थियो। तर, पीटीआईले परिवार र पार्टी नेतृत्वलाई जानकारी नदिई गोप्य रूपमा अस्पताल सारिएको भन्दै आलोचना गरेको छ। पार्टीले इमरान खानलाई आफ्ना निजी चिकित्सकहरूसँग भेट्न नदिइएको आरोप पनि लगाएको छ।
यसअघि राष्ट्रिय सभाका विपक्षी नेता महमूद खान अचकजईले प्रधानमन्त्री शेहबाज शरीफलाई पत्र लेख्दै इमरान खानको स्वास्थ्य परीक्षणका लागि ‘विश्वसनीय’ चिकित्सकमार्फत हस्तक्षेप गर्न आग्रह गरेका थिए।
कासिम र सुलेमानले सन् २०२५ को डिसेम्बरमै भिसा आवेदन दिएको र जनवरीमा पाकिस्तान जाने योजना बनाएको बताएका थिए। तर अधिकारीहरूले उनीहरूलाई भिसा दिन अस्वीकार गरेपछि पूर्वप्रधानमन्त्रीको स्वास्थ्य र परिवारसँग भेटघाटबारे चिन्ता थप बढेको छ।
















