Logo

२३ माघ, काठमाडौं । राणा शासनको अन्त्य गर्दै नेपालमा पहिलो पटक प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यस वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ । सरकारले आउँदो फागुन ६, ७ र ८ गते देशभर तथा विदेशस्थित नेपाली नियोगहरूमा विविध कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको हो ।

बिहीबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीनदिने कार्यक्रम तय गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ। प्रधानमन्त्री स्वयं अध्यक्ष रहने उक्त समितिमा संघीय मन्त्रीहरू, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुख, मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरू तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहनेछन् । गृह मन्त्रालयका सचिव समितिका सदस्य-सचिव रहने व्यवस्था गरिएको छ ।

सरकारको निर्णयअनुसार तीन दिनसम्म नेपालभर सार्वजनिक कार्यक्रम आयोजना गरिनेछ भने विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूले पनि विशेष कार्यक्रममार्फत दिवस मनाउनेछन् । राजधानी काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह आयोजना गरिनेछ ।

बैठकमा प्रधानमन्त्री कार्कीले फागुन ७ नेपालको राजनीतिक इतिहासमा अत्यन्तै महत्त्वपूर्ण दिन भएको उल्लेख गर्दै प्रजातन्त्रका मूल्य र उपलब्धिलाई नयाँ पुस्तासम्म पुर्‍याउनु आजको आवश्यकता भएको बताइन् । उनले गत भदौ २३ र २४ गते भएको आन्दोलनले मुलुकमा थप परिवर्तनको मार्ग प्रशस्त गरेको उल्लेख गर्दै लोकतान्त्रिक उपलब्धिको रक्षा र सुदृढीकरणमा सबैको भूमिका अपरिहार्य रहेको धारणा राखिन् ।

सरकारले यस वर्षको प्रजातन्त्र दिवसलाई केवल औपचारिकतामा सीमित नराखी नागरिक सहभागिता, लोकतान्त्रिक चेतना र ऐतिहासिक स्मरणलाई केन्द्रमा राखेर मनाउने तयारी गरेको जनाएको छ ।


सम्बन्धित समाचार