Logo

२३ माघ, वीरगञ्ज । आज पनि तराई भू–भागका केही क्षेत्रमा हुस्सु र तुवाँलोले जनजीवन प्रभावित बनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ भने दिउँसो पनि यो अवस्था पूर्ण रूपमा नहट्ने सम्भावना छ ।

महाशाखाले देशका पहाडी र हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहेको जनाएको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली देखिए पनि बाँकी अधिकांश स्थानमा घाम लागेको र मौसम खुल्ला रहने अनुमान गरिएको छ ।

आज राति पनि तराई क्षेत्रमा हुस्सु कायमै रहने पूर्वानुमान छ। यसले विशेषगरी सवारी आवागमन, हवाई उडान र दैनिक जनजीवनमा असर पार्न सक्ने मौसमविद्हरूले बताएका छन् ।

यस्तै, रातिको समयमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम प्रायः सफा नै रहनेछ। हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले स्पष्ट पारेको छ ।

मौसमविद्हरूले हुस्सुका कारण तराई क्षेत्रमा चिसोको अनुभूति बढ्न सक्ने भन्दै स्वास्थ्य र यात्रामा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।


सम्बन्धित समाचार