२३ माघ, काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकामा बिहीबार राति भएको भीषण बस दुर्घटनामा १३ जनाको ज्यान गएपछि स्थानीय प्रशासन र समुदाय गहिरो शोकमा डुबेका छन् ।
जन्ती पुर्याएर फर्किएको पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस वडा नम्बर ७ को बढ्गाउँ मोडमा दुर्घटनामा परेपछि भएको अकल्पनीय क्षतिप्रति नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । यस दुखद घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले आज शुक्रबार एक दिनका लागि नगर क्षेत्रभर शोक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले जारी गरेको औपचारिक सूचनाअनुसार आज पुर्चौडीभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा निजी कार्यालयहरू पूर्ण रूपमा बन्द रहनेछन् । खुसीयाली मनाएर फर्किँदै गरेका जन्ती सवार बस दुर्घटनामा पर्दा सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।
नगरपालिकाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी समवेदना प्रकट गरेको छ। घटनास्थलको प्रकृति र ठुलो मानवीय क्षतिका कारण अहिले बैतडी क्षेत्र निकै शोकाकुल बनेको छ ।
















