Logo

२३ माघ, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन पूर्ण रूपमा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चितता व्यक्त गर्नुभएको छ ।

भदौको जेनजी आन्दोलन, तत्कालीन प्रधानमन्त्रीको राजीनामा र त्यसपछिको राजनीतिक अस्थिरताका बीच घोषणा गरिएको यो निर्वाचन सुरक्षाका दृष्टिले निकै पेचिलो मानिए पनि अहिले सुरक्षा निकायहरू स्थिति नियन्त्रणमा लिन सक्षम रहेको उहाँले बताउनुभयो । अन्तरिम सरकारको गठन र संसद विघटनपछिको तरल राजनीतिक अवस्थामा पुराना र नयाँ शक्तिहरूबीच सन्तुलन कायम गर्दै निर्वाचन गराउनु चुनौतीपूर्ण भए तापनि सरकार र सुरक्षा निकायसँगको निरन्तर छलफलले सन्तोषजनक नतिजा निकालेको आयोगको ठम्याइ छ ।

कावा प्रमुख आयुक्त भण्डारीका अनुसार निर्वाचन घोषणा भएको सुरुवाती दिनहरूमा सुरक्षालाई लिएर व्यापक चासो र चिन्ता रहे पनि अहिले त्यो अवस्था अन्त्य भएको छ । उम्मेदवार, दलका नेता र खासगरी मतदान केन्द्रसम्म पुग्ने मतदाताको सुरक्षाका लागि विशेष योजना लागू गरिएको भन्दै उहाँले निर्वाचन बिथोल्न खोज्ने तत्वहरू सुरुमै परास्त भइसकेको दाबी गर्नुभयो ।

‘सबै कोणबाट विश्लेषण गर्दा अब सुरक्षाको विषयमा टाउको दुखाउनुपर्ने अवस्था छैन, निर्वाचन ढुक्कसँग हुन्छ,’ भण्डारीले भन्नुभयो । आयोगले मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण बनेको भन्दै सुरक्षा निकायको कार्यक्षमतामा पूर्ण विश्वास व्यक्त गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै