२३ माघ, काठमाडौं । २३ माघ, काठमाडौं । रौतहटको इशनाथ नगरपालिका–४ मठिया टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले प्रयोग गर्ने कारको ठक्करबाट ४ वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको छ ।
बिहीबार दिउँसो बा १५ च ४२४४ नम्बरको कारले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएपछि पछाडिको पाङ्ग्राले समेत किचेको सीसीटीभी फुटेजमा देखिएको छ । दुर्घटनामा संलग्न कारमा रास्वपाको झण्डा र उम्मेदवार शेख सगिरको तस्बिरसहितको स्टिकर टाँसिएको छ। घटनापछि मृतकका परिवार र स्थानीयले कारभित्र उम्मेदवार सगिर आफैँ सवार रहेको दाबी गरे पनि प्रहरी र उम्मेदवारले भने उक्त दाबीको खण्डन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार प्रारम्भिक अनुसन्धानले दुर्घटनाका बेला उम्मेदवार कारभित्र नरहेको देखाएको छ । उम्मेदवार सगिरले पनि उक्त गाडी आफ्नै नाममा रहेको स्वीकार गर्दै दुर्घटनाको समयमा आफू गाउँमा घरदैलो कार्यक्रममा रहेको र चालकले गाडी सार्ने क्रममा दुर्घटना भएको जिकिर गर्नुभएको छ । यद्यपि, स्थानीयले भने उम्मेदवारको उपस्थिति र जिम्मेवारीबारे प्रश्न उठाएका छन् ।
दुर्घटना गराउने चालक २७ वर्षीय शेख मुस्ताखलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बालिकालाई ठक्कर दिएपछि उनले नै गाडीमा राखेर अस्पताल पुर्याएको र चिकित्सकले मृत घोषणा गरेपछि केही समय मोबाइल अफ गरेर सम्पर्कविहीन भएको पाइएको छ । चालकले बालिका एक्कासि सडकमा आएकाले नदेखेको बयान दिएका छन् । निर्वाचनको प्रचारप्रसारमा प्रयोग भइरहेको सवारी साधनबाट भएको यस दुखद घटनाले रौतहटमा चुनावी सरगर्मीका बीच सुरक्षा र जिम्मेवारीको विषयमा नयाँ बहस सिर्जना गरेको छ ।
















