Logo

२३ माघ, काठमाडौं । विवादास्पद अभिव्यक्ति र पछिल्लो समय ‘नागरिक बचाउ महाअभियान’ मार्फत सडक आन्दोलनको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो काठमाडौँको चाल्नाखेलबाट प्रसाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले पुष्टि गरेको छ। सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ गते पोखराबाट पक्राउ परी माघ ६ गते मात्र हाजिर जमानीमा रिहा भएका प्रसाईंलाई त्यसको केही दिनमै प्रहरीले फेरि नियन्त्रणमा लिएको हो ।

प्रहरीले प्रसाईंलाई कुन निश्चित अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक रूपमा स्पष्ट नखुलाए तापनि यसको सम्बन्ध निर्वाचन आयोगसँग जोडिएको हुनसक्ने अनुमान गरिएको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा मोटो रकम बुझाएर आधिकारिकता लिएको भनी प्रसाईंले सार्वजनिक रूपमा गम्भीर आरोप लगाएका थिए ।

उक्त विवादास्पद अभिव्यक्तिप्रति चासो राख्दै निर्वाचन आयोगले सत्यतथ्य अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेकै पृष्ठभूमिमा यो पक्राउ परेको देखिएको छ । पक्राउ परेका प्रसाईंलाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसरमा राखिएको छ।


सम्बन्धित समाचार