Logo

२१ माघ, काठमाडौं । नेपालमा हुन लागेको आम निर्वाचन र फेरिँदो कूटनीतिक समीकरणका बीच चीन सरकारले नेपालका लागि नयाँ राजदूतका रूपमा चाङ माओमिङलाई पठाउने निर्णय गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागमा उप–महानिर्देशकका रूपमा कार्य गरिसक्नुभएका चाङ फागुनको पहिलो हप्ताभित्रै काठमाडौँ उत्रने तयारीमा हुनुहुन्छ । चीनले पठाएको एग्रिमोलाई नेपाल सरकारले स्वीकृत गरिसकेकाले उहाँको आगमनको बाटो खुलेको हो । तीन वर्षे कार्यकाल पूरा गरेर चेन सोङ स्वदेश फर्किएपछि रिक्त रहेको उक्त महत्वपूर्ण ओहोदा सम्हाल्न आउन लाग्नुभएका चाङलाई नेपाल मामिलाको अनुभवी र गहिरो जानकार मानिन्छ ।

चाङको यो नियुक्ति र आगमनलाई विशेष गरी नेपालको वर्तमान राजनीतिक संक्रमण र तिब्बती धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछेको नेपाल भ्रमणसँग जोडेर हेरिएको छ । चिनियाँ नयाँ वर्ष मनाएर मात्र आउने पूर्वनिर्धारित योजना भए तापनि नेपालमा हुन लागेको निर्वाचन र तिब्बती धर्मगुरुको आगमनले निम्त्याएको कूटनीतिक बहसका कारण चीनले उहाँलाई हतारमै पठाउन लागेको परराष्ट्र मन्त्रालय स्रोतको बुझाइ छ ।

यसअघि पनि पटक–पटक नेपालको भ्रमण गरिसकेका र यहाँका शीर्ष नेताहरूसँग प्रत्यक्ष संवादको अनुभव बटुल्नुभएका चाङको उपस्थितिले निर्वाचनका समयमा हुन सक्ने विदेशी प्रभाव र नेपाल(चीन सम्बन्धको नयाँ आयामलाई थप पेचिलो बनाउने संकेत गरेको छ ।


सम्बन्धित समाचार