Logo

२३ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तर बैंक कारोबारले ४ खर्ब ७० अर्बको आँकडा पार गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमास (पुस मसान्त) सम्मको तथ्याङ्क अनुसार वित्तीय बजारमा तरलता व्यवस्थापनका लागि बैंकहरूले कुल ४ खर्ब ७० अर्ब १९ करोड रुपैयाँ बराबरको सापटी आदानप्रदान गरेका हुन् ।
अघिल्लो आर्थिक वर्षको कुल कारोबार ७ खर्ब ९१ अर्ब ४ करोड रुपैयाँ रहेकोमा यस वर्षको आधा अवधिमै भएको यो कारोबारले बैंकिङ प्रणालीमा आन्तरिक स्रोत व्यवस्थापनको सक्रियतालाई दर्शाउँछ । यद्यपि, महिनागत आधारमा हेर्दा पुस महिनामा भने सबैभन्दा कम अर्थात् ५३ अर्ब २९ करोड रुपैयाँको मात्र कारोबार भएको देखिएको छ ।

अन्तर बैंक कारोबारको कुल हिस्सामा यसपटक पनि वाणिज्य बैंकहरूकै एकलौटी वर्चस्व देखिएको छ । कुल कारोबारमध्ये ३ खर्ब ९६ अर्ब ४१ करोड रुपैयाँ वाणिज्य बैंकहरूले मात्रै चलाएका छन्, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो अंक ७ खर्ब ४५ करोड रुपैयाँभन्दा माथि रहेको थियो । विकास बैंक र अन्य वित्तीय संस्थाहरूको कारोबारमा पनि अघिल्लो वर्षको तुलनामा केही संकुचन आएको तथ्याङ्कले देखाउँछ। गत वर्ष विकास बैंक र फाइनान्स कम्पनीहरूले करिब ९३ अर्बको कारोबार गरेका थिए ।

समग्रमा, वाणिज्य बैंकहरूको कारोबारमा आएको गिरावट र पुस महिनामा देखिएको सुस्तताले बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको वा बैंकहरूबीचको सापटी मागमा केही कमी आएको सङ्केत गरेको छ ।


सम्बन्धित समाचार