Logo

२३ माघ,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा उम्मेदवार रामनरेश यादवले चुनावी अभियानलाई तीव्र बनाएका छन्।

शुक्रबार बिहान यादवले पार्टीका नेता–कार्यकर्ता तथा समर्थकसहित वीरगन्ज महानगरपालिका–३०, प्रसोतिपुरमा घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन्। घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धताबारे जानकारी गराए।

कार्यक्रमका क्रममा उम्मेदवार यादवले मधेसको हक–अधिकार, समानता, रोजगारी र समग्र विकासलाई प्राथमिकतामा राखेर प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको आत्मसम्मान, पहिचान र अधिकारको संरक्षणका लागि जसपा नेपाल नै भरोसायोग्य राजनीतिक विकल्प भएको दाबी गरे।

यादवले आगामी प्रतिनिधिसभा निर्वाचनमा सहयोग र समर्थनका लागि मतदातासँग आग्रह समेत गरेका छन्।

घरदैलो कार्यक्रममा स्थानीयवासीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै उम्मेदवारसँग क्षेत्रका समस्या, आवश्यकता र अपेक्षाबारे खुलेर छलफल गरेका थिए।

निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–१ मा जसपा नेपालको राजनीतिक गतिविधि थप सक्रिय बन्दै गएको देखिएको छ।


सम्बन्धित समाचार