Logo

२३ माघ, काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको चुनावी प्रचारमा प्रयोग गरिएको कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनामा प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

उक्त दुर्घटनामा संलग्न बा १५ च ४२४४ नम्बरको कारका चालक, परोहा नगरपालिका–३ का २७ वर्षीय शेख मुस्ताखविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी विष्णु प्रदीप बस्यालले हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्न अदालतले अनुमति दिएको जानकारी दिनुभएको छ । बिहीबार दिउँसो मठिया टोलमा भएको उक्त दुखद दुर्घटनामा ४ वर्षीया अल्फा खातुनले ज्यान गुमाएकी थिइन् ।

अनुसन्धानका क्रममा उक्त कार रास्वपाका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा दर्ता रहेको र निर्वाचनकै सिलसिलामा प्रयोग भइरहेको पुष्टि भएको छ । दुर्घटनाको समयमा उम्मेदवार सगिर स्वयं गाडीमा सवार नरहेको प्रहरीले स्पष्ट पारे पनि उम्मेदवारकै सवारी साधनबाट मानवीय क्षति भएपछि यसले कानुनी र नैतिक प्रश्नहरू उब्जाएको छ । प्रहरीले चालक मुस्ताखमाथि सवारी ज्यान मुद्दाअन्तर्गत अनुसन्धान प्रक्रियालाई तीव्रता दिएको छ भने घटनाको सीसीटीभी फुटेज र अन्य प्राविधिक पक्षहरूको पनि विश्लेषण भइरहेको छ । निर्वाचनको पूर्वसन्ध्यामा भएको यस घटनाले स्थानीय क्षेत्रमा शोक र आक्रोश दुवै पैदा गरेको छ ।


सम्बन्धित समाचार