Logo

२३ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरू र शेयर रजिष्ट्रारहरूलाई आफ्ना शेयरधनी तथा ऋणपत्रधनीहरूलाई लाभांश वा ब्याज वितरणको जानकारी गराउँदा अनिवार्य रूपमा स्पष्ट विवरण खुलाउन निर्देशन दिएको छ ।

पछिल्लो समय कम्पनीहरूले पठाउने सूचना अपुरो र अस्पष्ट हुने गरेको गुनासो बढेपछि नेप्सेले इमेल, एसएमएस वा अन्य सञ्चार माध्यमबाट पठाइने सन्देशमा तोकिएको मापदण्ड पालना गर्न भनेको हो । अबदेखि कम्पनीहरूले लगानीकर्तालाई जानकारी पठाउँदा सम्बन्धित कम्पनीको स्टक सिम्बोल, कुन आर्थिक वर्षको लाभांश हो सोको उल्लेख र लाभांश वा ब्याजदरको प्रतिशत स्पष्ट रूपमा खुलाउनुपर्नेछ ।

विशेष गरी ऋणपत्र (डिबेञ्चर) का हकमा समेत ब्याजदरको स्पष्ट विवरण नखुलाई सूचना प्रवाह गर्दा लगानीकर्ताहरू झुक्किने गरेको पाइएकाले नेप्सेले यसमा कडाइ गरेको हो । नेप्सेले जारी गरेको यो निर्देशनले दोस्रो बजारमा आवद्ध लाखौँ लगानीकर्ताहरूलाई आफूले पाउने प्रतिफलको बारेमा समयमै र सही जानकारी प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ । सूचीकृत कम्पनीहरूले अब आफ्ना शेयरधनीसँग सञ्चार गर्दा यी प्रावधानहरू पालना नगरेमा त्यसलाई सूचना प्रवाहको कमजोरी मानिनेछ ।


सम्बन्धित समाचार