Logo

२४ माघ, काठमाडौँ । नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ । उपचारका क्रममा विराट मेडिकल कलेजमा शुक्रबार राति ८ बजेर ५२ मिनेटमा उनको मृत्यु भएको हो ।

मोरङको बिराटचोकमा शुक्रबार आयोजित नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सहभागी डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेकै बेला एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए ।

घटना लगत्तै उनलाई उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो । तर उपचारकै क्रममा उनको निधन भएको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले पुष्टि गरेका छन् ।

प्रारम्भिक जानकारीअनुसार घिमिरे उच्च रक्तचापको समस्याबाट पीडित थिए। बैठककै क्रममा ढल्दा उनको जिब्रो काटिएको र स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

घिमिरेको आकस्मिक निधनले सशस्त्र प्रहरी बल संगठनभित्र शोकको वातावरण छाएको छ। घटनाबारे आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।


सम्बन्धित समाचार