Logo

२४ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमार्फत नयाँ राजनीतिक शक्तिका नाममा भइरहेको प्रचारप्रसारप्रति टिप्पणी गर्दै विचार, एजेण्डा र ऐतिहासिक योगदानका आधारमा मात्रै नयाँ र पुरानो छुट्याइनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा वास्तविक रूपमा नयाँ शक्ति कम्युनिष्ट आन्दोलन नै भएको दाबी गरे। गणतन्त्र र संघीयताको मुख्य वाहक कम्युनिष्ट आन्दोलन भएकाले त्यसलाई नै सबैभन्दा नयाँ राजनीतिक धारका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो ।

“आजभोलि सामाजिक सञ्जालमार्फत नयाँनयाँ भन्दै निकै होहल्ला गरिएको छ । नेपालमा हामीभन्दा नयाँ कोही पनि छैनन् । नेपाली कम्युनिष्ट पार्टी मात्रै नयाँ हो, किनकि यो गणतन्त्र र संघीयताको वाहक हो,” प्रचण्डले भने ।

संयोजक दाहालले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम तथा थारू समुदायलाई पहिचान र अधिकार दिलाउने काम कम्युनिष्ट आन्दोलनकै नेतृत्वमा सम्भव भएको जिकिर गरे । ती समुदायको राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित गर्ने एकमात्र शक्ति आफ्नो पार्टी रहेको उनको दाबी थियो ।

विचार र एजेण्डाको आधारमै राजनीतिक शक्तिको मूल्यांकन हुनुपर्ने तर्क गर्दै उनले राष्ट्र र जनताको हितमा समर्पित शक्ति नै वास्तविक नयाँ हुने स्पष्ट पारे ।

“महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारूलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी नेपाली कम्युनिष्ट पार्टी हो । आजकाल नयाँ भनेर सामाजिक सञ्जालमा होहल्ला गर्नेहरू नयाँ हुन् ? ती सबैभन्दा पुराना हुन्,” उनले भने ।

प्रचण्डले सामाजिक सञ्जालमा हुने प्रचारभन्दा राजनीतिक विचार, कार्यक्रम र जनपक्षीय योगदानलाई आधार मानेर जनताले मूल्यांकन गर्नुपर्ने आवश्यकता समेत औंल्याए।


सम्बन्धित समाचार