२४ माघ, वीरगञ्ज । काठमाडौँ महानगरपालिकाका पूवमेयर बालेन शाहको कार्यशैली र राजनीतिक भविष्यलाई लिएर सामाजिक सञ्जालमा एक भिडियो यतिबेला चर्चाको विषय बनेको छ । फेसबुकमा ८० हजारभन्दा बढी फलोअर्स रहेकी सविता बस्नेतले आफ्नो रिल्समार्फत बालेन शाहलाई ’विध्वंशको संज्ञा’ दिँदै गम्भीर आरोपहरू लगाएकी हुन् ।
बस्नेतले आफ्नो भिडियोमा बालेन शाहलाई ’लुसिफर’ (विनाशको प्रतीक) सँग तुलना गर्दै उनी जहाँ उभिन्छन् त्यहाँ विनाश र आगो मात्र लाग्ने दाबी गरेकी छन् । बालेन महानगरको नेतृत्वमा आएपछि रचनात्मक कामभन्दा पनि विनाशकारी काममा बढी केन्द्रित भएको उनको जिकिर छ ।
रिल्समा भनिएको छ, “नसामा डुबेको युवा बालेन जब मेयर बन्यो, उसको भत्काउने काम सुरु भयो। सुरुमा स्टार्टअप व्यवसायहरूको सटर भत्काएर युवाहरूको भविष्यमाथि प्रहार गरियो। त्यसपछि गरिब सुकुम्बासीको छानो खोसेर उनीहरूलाई उजाड बनाइयो ।”
भिडियोमा बस्नेतले बालेन शाहको एउटा विवादास्पद फेसबुक स्टाटस र त्यसपछिका घटनाक्रमलाई अतिरञ्जित ढंगले प्रस्तुत गरेकी छन् । बालेनकी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको झोकमा उनले “सिंहदरवार जलाइदिन्छु“ भनेको र त्यसको परिणामस्वरुप भदौ २४ गते सिंहदरवार र सर्वोच्च अदालतमा आगजनी भएको दाबी भिडियोमा गरिएको छ ।
“सिंहदरवार र सर्वोच्च अदालत जलिरहँदा तीन दिनसम्म आगो निभेन । अन्य स्थानीय तहले दमकल पठाएपछि मात्र आगो नियन्त्रणमा आयो,“बस्नेतले भिडियोमा भनेकी छन्, “उनकै आह्वानमा भएको आन्दोलनले संसद भवनदेखि निजी निवास र राज्यका सम्पत्ति खरानी भए ।”
उक्त भिडियोमा बालेन शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा क्षेत्र नं ५ बाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको समेत दाबी गरिएको छ । बालेनलाई ’नेगेटिभ इनर्जी’ ले भरिएको र अरूको दुःखमा आनन्द लिने व्यक्तिको रूपमा चित्रण गर्दै बस्नेतले उनलाई कसको डिजाइनमा राजनीतिमा अगाडि बढाइएको हो भनी प्रश्न गरेकी छन् ।
हालै जनकपुर भ्रमणका क्रममा बालेनका समर्थकहरूले विमानस्थलमा गरेको भनिएको तोडफोडको घटनालाई पनि उनले ’विध्वंशकारी शृङ्खला’ को एउटा कडीका रूपमा व्याख्या गरेकी छन् ।
यद्यपि, भिडियोमा गरिएका कतिपय दाबीहरू तथ्यसँग मेल खाँदैनन् । भिडियोमा बालेन शाह सिंहदरवार जलाएको भन्ने दाबी पुष्टी नभएका अतिरञ्जित मात्र हुन् । तर, सामाजिक सञ्जालमा बालेनका समर्थक र विरोधीबीच यो भिडियोलाई लिएर तीव्र बहस सुरु भएको छ ।
















