Logo

२४ माघ,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २५ स्थित ड्राइपोर्ट सिर्सिया तथा भन्सार सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय उद्घाटन गरिएको छ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन रास्वपाका उम्मेदवार सुशील साह कानुले गरेका हुन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कानुले देशमा हाल भइरहेको निर्वाचन प्रक्रिया युवामा बढ्दो परिवर्तनको चाहनाको परिणाम भएको बताए। “युवाले परिवर्तन चाहेकै कारण आज देश यो निर्वाचन प्रक्रियामा पुगेको हो,” उनले भने, “अहिले पनि पुराना पार्टीहरूले राज्यका संरचनामा जरा गाडेर बसेका छन्, तर परिवर्तन चाहने युवाको दबाबकै कारण चुनाव सम्भव भएको हो।”

कानुले आफू आर्थिक रूपमा कमजोर भए पनि युवाको साथ, विश्वास र सक्रिय सहभागिताको बलमा निर्वाचन जित्ने दाबी गरे। “मेरो उम्मेदवारी पैसाको बलमा होइन,” उनले भने, “यो युवाको बल, भरोसा र सहभागिताले जित्ने उम्मेदवारी हो।”

कार्यक्रममा उनले पर्सा–२ भित्रका स्थानीय समस्यालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको स्पष्ट पारे। वर्षौंदेखि विभिन्न स्थानमा पुल नहुँदा तथा सूचना र सञ्चारको पहुँच कमजोर हुँदा स्थानीयले नेटवर्कसम्बन्धी समस्या भोग्दै आएको उनले उल्लेख गरे। यस्ता आधारभूत समस्या समाधान नगरी विकासको कुरा गर्नु निरर्थक हुने उनको भनाइ थियो।

शिक्षा र स्वास्थ्य क्षेत्रको कमजोर अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कानुले यी दुवै क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। “शिक्षा र स्वास्थ्य बलियो नभएसम्म समाज समृद्ध हुन सक्दैन,” उनले भने, “स्थानीय नागरिकले सहज रूपमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउने व्यवस्था गर्नु मेरो मुख्य लक्ष्य हो।”

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सहभागी युवाहरूले पुरानै शैलीको राजनीति र पटक–पटक दोहोरिने आश्वासनबाट दिक्क भइसकेको प्रतिक्रिया दिएका थिए।


सम्बन्धित समाचार