२४ माघ,काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु भएको छ। विश्वकपका खेलहरू भारत र श्रीलङ्काका विभिन्न मैदानमा आयोजना हुँदैछन्।
प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ। श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले पहिले ब्याटिङ गरिरहेको छ।
आजै हुने अन्य खेलहरूमा दिउँसो सवा ३ बजे भारतको इडेन गार्डेनमा वेष्ट इन्डिज र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ भने सवा ७ बजे मुम्बईको वानखेडे रंगशालामा आयोजक भारत र अमेरिका आमनेसामने हुनेछन्।
यस संस्करणको विश्वकपमा २० वटा टोली सहभागी छन्। टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स रहेका छन्।
समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान रहेका छन् भने समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।
यस्तै, समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा रहेका छन्।
















