२४ माघ,काठमाडौं ।वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। उहाँको आज बिहान निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभएको हो।
काठमाडौँको शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अचानक अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो। अस्पतालका अनुसार उहाँलाई हृदयघात भएको हो। हाल थापाको पार्थिव शरीर अस्पतालमै राखिएको छ।
६८ वर्षीय थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहँदै आउनुभएको थियो। नेपाली चलचित्र क्षेत्रमा विशेषगरी ‘खलनायक’को भूमिकामा चर्चित थापा ‘राते काइला’को नामले समेत परिचित हुनुहुन्थ्यो। उहाँले नेपाली सिनेमामा फरक पहिचान र बलियो छाप छोड्नुभएको कलाकारका रूपमा स्मरण गरिन्छ।
कलाकार संघका अध्यक्ष निरौलाका अनुसार थापाको परिवार हाल भारतको मुम्बईमा रहेकाले परिवारका सदस्यहरू काठमाडौँ आइपुगेपछि मात्रै अन्त्येष्टिसहितका अन्य प्रक्रिया तय गरिनेछ।
थापाको निधनप्रति कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
















