Logo

२४ माघ,काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादस्थित एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने १३० जनाभन्दा बढी घाइते भएका छन्। प्रहरीका अनुसार मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

एक वरिष्ठ प्रहरी अधिकारीले आफू घटनाबारे बोल्ने अधिकार नभएको भन्दै नाम नखुलाउने शर्तमा एएफपीसँग बताएअनुसार शुक्रबारको प्रार्थनापछि, देशभर मस्जिदहरू उपासकले खचाखच भरिएका बेला विस्फोट भएको हो। अर्को एक सुरक्षा स्रोतका अनुसार मस्जिदको गेटमै आक्रमणकारीलाई रोक्ने क्रममा उसले आफैँ विस्फोट गराएको थियो।

घटनामा घाइतेहरूलाई इस्लामावादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (PIMS) अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा एएफपीका पत्रकारहरूले वयस्क र बालबालिकासहित कैयौँ घाइतेलाई स्ट्रेचरमा राखेर तथा हात–खुट्टा समातेर उपचारका लागि लगिँदै गरेको देखेका छन्। एम्बुलेन्स र निजी सवारीसाधनमार्फत रगतले लत्पतिएका घाइतेहरू अस्पताल पुर्‍याइएको प्रत्यक्षदर्शीले बताएका छन्।

अस्पताल परिसरमा आफन्त र साथीहरूलाई भेट्न नपाएपछि सुरक्षाकर्मीहरूसँग कराइरहेका दृश्य देखिन्थ्यो। यता, मस्जिद क्षेत्रलाई सशस्त्र सुरक्षा बलले घेरा हालेर नियन्त्रणमा लिएको छ। घटनास्थल वरिपरि जमिनमा रगत जमेको देखिएको एएफपीका पत्रकारहरूले जनाएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा मस्जिदको मुख्य प्रवेशद्वार नजिकै शवहरू र प्रार्थना हलभित्र भग्नावशेष छरिएको देखिन्छ। रातो कार्पेटले ढाकिएको हलमा विस्फोटको गहिरो असर परेको देखिएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै आक्रमणको कडा निन्दा गरेका छन्। उनले विस्फोटमा संलग्न दोषीहरूलाई पहिचान गरी न्यायको कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। पाकिस्तान सुन्नी बहुल राष्ट्र भए पनि यहाँ शिया समुदायको जनसङ्ख्या करिब १० देखि १५ प्रतिशत रहेको छ र विगतमा उनीहरू लक्षित आक्रमणहरू हुँदै आएका छन्।

बढ्दो विद्रोह र सुरक्षा चुनौती

पाकिस्तानले अफगानिस्तानसँग सीमा जोडिएका दक्षिणी बलुचिस्तान र उत्तरी खैबर पख्तुनख्वा प्रान्तमा विद्रोह चर्किएको जनाएको छ। इस्लामावादको आरोप अनुसार पाकिस्तानी तालिबान र अन्य इस्लामिक लडाकू समूहहरूले अफगान भूमिलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गरिरहेका छन्।

तर अफगानिस्तानको तालिबान सरकारले यी आरोपहरू अस्वीकार गर्दै आएको छ। यसबीच दुवै देशबीचको सम्बन्ध खस्किँदै गएको छ र सीमामा नियमित रूपमा झडप हुने गरेको छ।

यसअघि नोभेम्बरमा इस्लामावादमा अदालत बाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको थियो, जुन करिब तीन वर्षयताकै राजधानीमा भएको ठूलो आक्रमण मानिएको थियो। त्यस्तै, दक्षिणी बलुचिस्तानमा गत हप्ता भएको पृथकतावादी आक्रमणमा ३६ सर्वसाधारण र २२ सुरक्षाकर्मीको मृत्यु भएको थियो। त्यसपछिको सुरक्षा कारबाहीमा करिब २०० लडाकू मारिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।


सम्बन्धित समाचार