२४ माघ, काठमाडौं । भारतको मेघालय राज्यमा रहेको एक अवैध कोइला खानीमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ।
मेघालयको इस्ट जयन्तिया हिल्स जिल्लामा रहेको अवैध कोइला खानीमा भएको विस्फोटमा थप चार शव फेला परेसँगै मृतकको संख्या २५ पुगेको जिल्ला प्रहरी उपरीक्षक विकास कुमारले जानकारी दिएका छन्। उनका अनुसार घटनाबारे अनुसन्धान तथा उद्धार कार्य जारी रहेको छ।
उक्त खानी मेघालयको उमप्लेङ प्रहरी चौकीको क्षेत्राधिकारभित्र पर्छ। बिहीबार बिहान खानीभित्र डायनामाइट विस्फोट भएको थियो।
प्रहरीका अनुसार हालसम्म बरामद भएका २५ शवमध्ये १७ जनाको सनाखत भइसकेको छ। सनाखत भएका शवहरू कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको छ।
यस विस्फोटमा परी दुई जना नेपाली नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका एकै घरका दाजु २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गी रहेका छन्।
घटनाले मेघालयमा अवैध रूपमा सञ्चालन भइरहेका कोइला खानीको जोखिम र सुरक्षा चुनौतीलाई फेरि उजागर गरेको छ।
















