Logo

२५ माघ, वीरगञ्ज । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज बिहानैदेखि वीरगञ्जसहित तराईका अधिकांश भूभाग बाक्लो हुस्सु र कुहिरोले ढाकिएका छन् । वीरगञ्जको मुख्य चोक घण्टाघर क्षेत्रमा बिहानैदेखि लागेको हुस्सुका कारण जनजीवन प्रभावित भएको छ भने सवारी साधनहरू हेडलाइट बालेर गुड्न बाध्य छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण तराईका जिल्लाहरूमा हुस्सु लाग्नुका साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

दिउँसो र रातिको अवस्था महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो कायमै रहने देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागे पनि अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ। यद्यपि, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

आज राति पनि तराईका भूभागमा बादल लाग्ने क्रम जारी रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी भागमा आंशिक बदली भए पनि देशका अन्य भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। हुस्सु र चिसोका कारण हुनसक्ने स्वास्थ्य समस्या र यातायातमा पर्न सक्ने अवरोधप्रति सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।


सम्बन्धित समाचार