२५ माघ, वीरगञ्ज । जिल्ला निर्वाचन कार्यालय काठमाडौँले सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यमहरूबाट मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य भइरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ । सर्वसाधारण तथा मतदातालाई “कसलाई मत दिनुहुन्छ ?” भनी प्रश्न सोधेर मतको गोपनीयता सार्वजनिक गर्ने कार्यले निर्वाचनको निष्पक्षतामा आँच पुग्ने भन्दै कार्यालयले यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो ।
निर्वाचन कार्यालयका अनुसार ‘निर्वाचन आचारसंहिता, २०८२’ को दफा ४ बमोजिम यस्ता कार्यहरू आचारसंहिताको गम्भीर उल्लंघन हुन् । कार्यालयले एक विज्ञप्ति जारी गर्दै मतदाताको गोपनीयता भङ्ग गर्ने र उनीहरूलाई मनोवैज्ञानिक दबाब दिने कार्य नरोेकिए प्रचलित कानुनबमोजिम कडा कारबाहीको प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ ।
आचारसंहिता अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र आधिकारिक रूपमा निर्वाचन प्रचारप्रसार गर्न पाइने कानुनी व्यवस्था छ । यस अवधिमा मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम र सञ्चारमाध्यममा प्रचार सामग्री प्रसारण गर्न पाइन्छ । तर, कतिपय राजनीतिक दल र उम्मेदवारले निर्धारित समयअगावै कोणसभा गर्ने, घरदैलो गर्ने र प्रचार सामग्री सार्वजनिक गरी मतदाता प्रभावित पार्ने काम गरिरहेको निर्वाचन कार्यालयको ठहर छ ।
पटकपटकको छलफल र सूचनाका बाबजुद पनि आचारसंहिता उल्लंघनका घटना नरोकिएपछि अनुगमन अधिकृतहरूले संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन् । अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लंघनको प्रमाण प्राप्त भए तत्कालै कानुनी कारबाही गरिने चेतावनी दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयले सबै सरोकारवाला, राजनीतिक दल र सञ्चारमाध्यमलाई स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न गराउन आफ्नो जिम्मेवारी जिम्मेवारीपूर्वक निर्वाह गर्न अपील समेत गरेको छ ।

















