२५ माघ, वीरगञ्ज । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी सरगर्मी बढ्दै जाँदा पर्सा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिएका छन् । अभियानका क्रममा पन्तले आज पिपरा, लालपर्सा, भेडिहाइ र सोलखपुरका मतदाताहरूसँग भेटघाट गरी उनीहरूका समस्या र गुनासाहरू सुनेका हुन् ।
भेटघाटका क्रममा स्थानीय मतदाताहरूले उम्मेदवार पन्तलाई ठाउँ-ठाउँमा टीका, माला र खादा लगाएर उत्साहजनक स्वागत गरेका थिए । सो अवसरमा सर्वसाधारणले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि पोख्दै अबको आशाको केन्द्र रास्वपा नै भएको बताए। स्थानीयवासीले यसपटकको निर्वाचनमा पर्सा १ बाट घण्टी चिह्नलाई जिताएर परिवर्तनको बिगुल फुक्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
घरदैलोका क्रममा मतदाताहरूले उम्मेदवार पन्तसँग कुराकानी गर्दै स्थानीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा रहेका समस्याहरू सुनाएका थिए । उम्मेदवार पन्तले नागरिकका गुनासाहरू ध्यानपूर्वक सुन्दै आफू र आफ्नो पार्टी जनभावना अनुसार काम गर्न प्रतिबद्ध रहेको विश्वास दिलाए । उनले पुराना दलहरूको विकल्पमा रास्वपाले नयाँ एजेन्डा र भिजनसहित काम गर्ने दाबी समेत गरे ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरू, स्थानीय युवा, महिला र सर्वसाधारणको उल्लेख्य र स्वतस्फूर्त सहभागिता रहेको थियो। पर्सा १ मा रास्वपाको बढ्दो सक्रियताले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।
















