२५ माघ, काठमाडौं । नेपालको बैंकिङ्ग प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
केन्द्रीय बैंकले ४२ दिनको अवधिका लागि यो उपकरण प्रयोग गर्न लागेको हो, जसको अन्तिम भुक्तानी आगामी २०८२ साल चैत ८ गते गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले प्रणालीमा रहेको निष्क्रिय रकमलाई राष्ट्र बैंकमा राख्नका लागि आज अनलाइनमार्फत आफ्नो बोलपत्र पेस गर्नुपर्नेछ ।
यो प्रक्रियामा सहभागी हुन चाहने बैंकहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाटै तय हुनेछ, जहाँ कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर रकम बाँडफाँड गरिने राष्ट्र बैंकको नीति रहेको छ ।
बहुब्याजदर प्रणालीअनुसार बोलकबोल गर्न सकिने यस उपकरणमा सफल हुने बैंकहरूको रकम उनीहरूको लगानी पोर्टफोलियोको रूपमा रहनेछ । यद्यपि, यसरी संकलन गरिएको रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दातको रूपमा गणना गर्न नपाउने स्पष्ट पारिएको छ । बजारमा तरलता बढेर ब्याजदरमा अस्वाभाविक गिरावट आउन नदिन राष्ट्र बैंकले समय(समयमा यस्ता मौद्रिक उपकरणहरूको प्रयोग गर्दै आएको छ ।















