२५ माघ, काठमाडौं । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा पछिल्लो समय नयाँ उद्योगहरू थपिने र उत्पादन सुरु गर्ने क्रमले उत्साह थपेको छ ।
यसै सिलसिलामा, माघको पहिलो सातादेखि प्रिसिअस ओइष्ट रिफायनरी प्रालिले पुराना इलेक्ट्रोनिक्स सामानको प्रशोधन गरी बहुमूल्य धातु उत्पादन गर्ने गरी परीक्षण उत्पादन सुरु गरेको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार सम्भवतः नेपालमै पहिलो पटक यस्तो प्रकृतिको इ–वेस्ट प्रशोधन गर्ने उद्योग सञ्चालनमा आएको हो । यसका साथै, गत कात्तिकदेखि नै राधाकृष्ण सेनथेटिक प्रालिले पनि प्लास्टिकका बोराहरूको व्यवसायिक उत्पादन पूर्ण रूपमा सुरु गरिसकेको छ ।
नयाँ उद्योगहरूको आगमनसँगै केही पुराना र बन्द रहेका उद्योगहरूले पनि पुनर्जीवन पाउने भएका छन् । लामो समयदेखि बन्द रहेको नेपाल ब्रोरी नयाँ व्यवस्थापनका साथ पुनः सञ्चालनको अन्तिम तयारीमा छ भने ुत्रिपुरा इन्डस्ट्रिजु ले नयाँ टोबाको उद्योग सञ्चालनमा ल्याउँदैछ । यद्यपि, केही चुनौतीहरू पनि देखिएका छन् । पछिल्ला महिनाहरूमा लगानी अभावका कारण रोटो प्रिन्टिङ र नोबोल प्याकेजिङ जस्ता उद्योगले आफ्नो उत्पादन रोकेका छन् । हाल यस क्षेत्रभित्र विभिन्न प्रकृतिका १३ वटा नयाँ उद्योगहरू निर्माणाधीन अवस्थामा छन्, जसमध्ये अधिकांश निर्माणको अन्तिम चरणमा पुगेकाले निकट भविष्यमै हेटौंडाको औद्योगिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ ।
वि.सं. २०२० सालमा अमेरिकी सरकारको सहयोगमा स्थापना भएको यो औद्योगिक क्षेत्र हाल ३ हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको छ। यहाँ हाल १४७ वटा उद्योग तथा प्रतिष्ठानहरूले जग्गा भाडामा लिएर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् । खाद्य, पेय पदार्थ, पेन्ट्स, र दाना उद्योगका लागि हब मानिने यस क्षेत्रमा सरकारी स्वामित्वका दुग्ध वितरण आयोजनादेखि विभिन्न प्रादेशिक कार्यालयहरू र बैंक समेत सञ्चालित छन् । हाल यस औद्योगिक क्षेत्रमा २६ रोपनी जग्गा मात्र खाली रहेको र बाँकी सबै भू–भाग उद्योग, सडक सञ्जाल र प्रशासनिक संरचनाहरूले ओगटेको छ ।















