Logo

२५ माघ, काठमाडौं । राष्ट्रिय सभामा आफ्नो कार्यकाल पूरा गरी बिदा हुन लागेका सांसदहरूले संसद्को रोष्ट्रमबाटै बिदाइ सम्बोधन गर्ने भएका छन् ।

आगामी फागुन २० गते कार्यकाल सकिने १९ जना सांसदहरूका लागि सोमबारको बैठकमा आफ्ना संसदीय अनुभव र अनुभूतिहरू साटासाट गर्ने कार्यसूची तय गरिएको छ । संघीय संसद् सचिवालयका अनुसार सोमबारको बैठकमा सम्बोधन नसकिएमा यसलाई माघ २८ गतेको बैठकमा समेत निरन्तरता दिइनेछ, जसका लागि सचिवालयले आवश्यक आन्तरिक तयारी पूरा गरिसकेको छ ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै राष्ट्रिय सभाको चालु अधिवेशनलाई पनि अन्त्य गर्ने तयारी सरकारले गरेको छ । निर्वाचनमा राजनीतिक दलका प्रतिनिधिहरू परिचालन हुनुपर्ने र कतिपय राष्ट्रिय सभा सदस्यहरू स्वयं पनि चुनावी प्रचारमा होमिनुपर्ने भएकाले अधिवेशनलाई नलम्ब्याउने विषयमा सरकार र सचिवालयबीच अनौपचारिक सहमति भएको छ ।

यसअघि नै मनोनीत सांसद वामदेव गौतमले राजीनामा दिइसकेका छन् भने नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि राष्ट्रिय सभाबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिसकेका छन् ।

सरकारले आगामी चैत १ गतेदेखि संघीय संसद्को नयाँ अधिवेशन आह्वान गर्ने लक्ष्य राखेको छ, जसका लागि संसद् सचिवालयलाई आवश्यक व्यवस्थापन गर्न सन्देश पठाइसकिएको छ। निर्वाचन सकिएलगत्तै प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने तयारी भइरहँदा, अहिले बिदा हुन लागेका १६ जना सांसदहरूले मात्रै सदनमा आफ्ना बिदाइ मन्तव्य राख्नेछन् ।

प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचनको मुखमा माथिल्लो सदन चलाइराख्नु व्यावहारिक नहुने भएकाले कार्यसूचीमा रहेका कामहरू सकाएर अधिवेशन अन्त्यको सिफारिस गर्ने तयारी सरकारले गरेको हो ।


सम्बन्धित समाचार
भर्खरै