Logo

२५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी विदेशी शक्तिको आशीर्वाद वा कसैको इसारामा नभई नेपाली माटोको संघर्षबाट जन्मिएको शक्ति भएको दाबी गरेका छन् ।

काठमाडौँ–२ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कुन्ती पोखरेलको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई निषेध गर्न खोज्ने शक्तिहरूलाई कडा चुनौती दिएका हुन् । उनले ज्ञानेन्द्र शाही लगायतका पार्टीका नेताहरूमाथि भएका अवरोधका प्रयासहरूतर्फ संकेत गर्दै राप्रपालाई कमजोर नठान्न र जिस्काउने काम नगर्न चेतावनी समेत दिएका छन् ।

पछिल्लो समय व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंमाथि भइरहेको प्रहरी हस्तक्षेप र पक्राउको विषयलाई लिएर अध्यक्ष लिङ्देनले सरकारको कडा आलोचना गरेका छन् । सरकारले नियतवश नै प्रसाईंलाई दुःख दिने र निरुत्साहित पार्ने काम गरेको आरोप लगाउँदै उनले यसलाई लोकतन्त्रमाथिको प्रहारको रूपमा व्याख्या गरेका छन् । संविधानले प्रत्येक नागरिकलाई वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता र शान्तिपूर्ण विरोध गर्ने अधिकार दिएको स्मरण गराउँदै उनले कसैले निर्वाचन बहिष्कार गर्छु वा यसमा भाग लिन्न भन्न पाउनु नागरिकको मौलिक अधिकार भएको जिकिर गरेका छन् ।

देशको राजनीतिमा बढ्दो विदेशी हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लिङ्देनले अबको निर्णायक शक्ति नेपाली जनता नै हुनुपर्नेमा जोड दिएका छन् । आगामी प्रधानमन्त्री को हुने भन्ने विषय समेत विदेशीले नै तय गरिदिने गरेको भन्दै उनले वर्तमान राजनीतिक अवस्थाप्रति व्यङ्ग्य समेत गरे । कुनै पनि नागरिकले हिंसात्मक बाटो नअपनाई शान्तिपूर्ण रूपमा आफ्ना असहमति राख्न पाउने संवैधानिक व्यवस्थाको सम्मान गर्न आग्रह गर्दै उनले प्रसाईंमाथि भइरहेको ज्यादती तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन् ।


सम्बन्धित समाचार