Logo

२५ माघ,नवलपुर । गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग हुँदै आएका विषाक्त औषधिको प्रयोग तत्काल प्रतिबन्ध गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। पशु उपचारमा हानिकारक औषधिको बढ्दो प्रयोगका कारण गिद्ध संरक्षणमा गम्भीर चुनौती थपिँदै गएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन्।

बर्ड कन्जर्भेसन नेपालको आयोजना, जटायु रेष्टुरेन्टको सहआयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय नवलपुरको सहकार्यमा आयोजित ‘गिद्ध सुरक्षा तथा विषाक्त औषधि’ सम्बन्धी कार्यशालामा पशु उपचारका क्रममा गिद्धका लागि घातक औषधि प्रयोग नगर्न आग्रह गरिएको हो।

कार्यशालामा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) की वरिष्ठ पशु विकास अधिकृत डा. शर्मिला कुमालले पशु उपचारमा प्रयोग हुने दुखाइ कम गर्ने औषधि एसिक्लोफेनक, केटोप्रोफेनक र निमिस्युलाइट गिद्धका लागि अत्यन्तै हानिकारक रहेको जानकारी दिइन्। ती औषधि प्रयोग गरिएका पशु मरेपछि गिद्धले आहाराका रूपमा सेवन गर्दा त्यसको असरले गिद्धको मृत्यु हुने गरेको अध्ययनले देखाएको उनले बताइन्।

उनका अनुसार ती औषधिको सुरक्षित विकल्पका रूपमा ‘मेलोक्सिकम’ प्रयोग गर्न सकिन्छ, जुन पशुधन उपचारका लागि डाइक्लोफेनेक जत्तिकै प्रभावकारी हुनुका साथै गिद्धका लागि सुरक्षित मानिएको छ। गिद्ध संरक्षणका दृष्टिले हानिकारक औषधिको प्रयोग रोक्दै सुरक्षित विकल्पलाई प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिइन्।

बर्ड कन्जर्भेसन नेपालका परियोजना अधिकृत भूपाल नेपालीका अनुसार नेपालमा हाल करिब २० हजार गिद्ध रहेको अनुमान गरिएको छ। उनका अनुसार देशभर ८०४ वटा गिद्धका गुँड पहिचान भइसकेका छन्।
‘सन् २०२४ र २०२५ को तथ्याङ्कअनुसार कपिलवस्तु जिल्लामा १७४ र नवलपरासी पूर्वमा १५७ गिद्धका गुँड फेला परेका छन्,’ उनले भने, ‘सन् २०२६ को पहिलो चरणमा गरिएको सर्वेक्षणमा नवलपरासी पूर्वमा १४५ गिद्धका गुँड देखिएका छन्।’

नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये सुन गिद्ध, डङ्गर गिद्ध र सानो खैरो गिद्ध अतिसङ्कटापन्न सूचीमा रहेको जटायु रेष्टुरेन्टका अध्यक्ष डिबी चौधरीले जानकारी दिए। उनका अनुसार तीमध्ये आठ प्रजातिका गिद्ध नवलपरासी पूर्व क्षेत्रमा पाइन्छन्।

गिद्ध संरक्षणका लागि विसं २०६३ मा जटायु रेष्टुरेन्ट स्थापना भएपछि गिद्धको सङ्ख्या र गुँडमा वृद्धि भए पनि पछिल्लो समय विषाक्त औषधि तथा विषादीको प्रयोगले संरक्षणमा चुनौती थपिएको चौधरीले गुनासो गरे। किसानले जीवजन्तु मार्न प्रयोग गर्ने विषादीका कारण गिद्धको स्वास्थ्यमा प्रत्यक्ष असर परेको उनले बताए।

‘विषादी प्रयोगका कारण मरेका पशुको मासु गिद्धले सेवन गर्दा मिर्गौलामा समस्या देखिएर मृत्यु हुने गरेको अध्ययनले देखाएका छन्,’ उनले भने, ‘कावासोती नगरपालिका–३ र ११ मा विषादी लागेको मासु सेवन गर्दा २० वटा गिद्ध मरेका घटनासमेत सार्वजनिक भएका छन्।’

गिद्धको स्वास्थ्यमा असर पार्ने औषधिको बिक्री वितरणमा प्रतिबन्ध लगाउन तथा पशु उपचारमा सुरक्षित औषधि प्रयोग सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरी पहल सुरु गरिएको चौधरीले जानकारी दिए।

कार्यशालामा गिद्ध संरक्षणका लागि विषाक्त औषधि प्रयोग गरिएका पशु चौपाया तथा चराचुरुङ्गी गिद्धलाई नखुवाउने, बिरामी तथा उपचारबाट निको नभएका पशु जटायु रेष्टुरेन्टमा नपुर्‍याउने, विषादी तथा पेस्टिसाइडको बिक्री वितरण प्राविधिकको निगरानीमा गराउने तथा जीवजन्तु मार्न यस्ता विषादीको प्रयोग निरुत्साहित गर्नुपर्ने विषयमा समेत छलफल गरिएको थियो।


सम्बन्धित समाचार