Logo

२५ माघ,काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ। निर्वाचन अवधिभर ड्रोन प्रयोग नगर्न केन्द्रीय सुरक्षा समितिले निर्णय गरिसकेको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार प्रतिनिधिसभा निर्वाचनमा ड्रोन प्रयोगले सुरक्षा चुनौती निम्त्याउन सक्ने भएकाले प्रतिबन्ध लगाइएको हो। उनले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको अवस्थामा त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने जानकारी दिए।

प्रवक्ता काफ्लेका अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा विशेष टोली परिचालन गरिएको छ। निर्वाचन विरोधी गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले कडा निगरानी गरिरहेको उनले बताए।

उनले निर्वाचनका क्रममा प्रहरीको बीमाको व्यवस्था मिलाउने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी आवश्यक प्रबन्ध गर्ने तयारी भइरहेको पनि जानकारी दिए।

गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचन सुरक्षामा कुनै पनि किसिमको कमीकमजोरी नगर्न तथा चुस्त व्यवस्थापनका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिइसकेको काफ्लेको भनाइ छ।

यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाबारे समीक्षा गरी थप प्रभावकारी व्यवस्था गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले आम नागरिकलाई सामाजिक सञ्जाल प्रयोगमा संयम अपनाउन अनुरोध गर्दै मिथ्या, भ्रमपूर्ण तथा कसैलाई लाञ्छना लगाउने सामग्री नपोस्ट गर्न आग्रह गरेको छ। यस्ता गतिविधिमा संलग्न भए कानुनअनुसार कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ।


सम्बन्धित समाचार