२५ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले तीन जनालाई पक्राउ गरिएको पुष्टि गर्दै उनीहरूबाट चोरीका केही सामान बरामद गरिएको जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक थान ल्यापटप, त्यसको चार्जर तथा एक थान भिडियो रेकर्डर बरामद गरिएको छ। चोरीमा संलग्न मुख्य व्यक्ति जेन–जी आन्दोलनका क्रममा २४ भदौमा नख्खु कारागारबाट फरार रहेका व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको र अनुसन्धानको संवेदनशीलताका कारण विस्तृत विवरण सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।
















