Logo

२५ माघ,वीरगञ्ज । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भारत सरकारले नेपाललाई उपहारस्वरूप प्रदान गरेका ४८२ वटा सवारी साधन वीरगञ्ज नाका हुँदै नेपाल भित्रिएका छन्।

वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) सञ्चालन गर्ने कम्पनी टीआरएस हिमालयन लजिपार्क प्रालिका अपरेशन इन्चार्ज जीतेन्द्र रसाइलीका अनुसार आइतबार थप २० वटा सवारी भित्रिएसँगै हालसम्म कूल ४८२ सवारी साधन नेपाल प्रवेश गरिसकेका छन्।

भारतले वीरगञ्ज नाका हुँदै कूल ५३८ वटा सवारी साधन नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा अब ५६ वटा सवारी मात्रै भित्रिन बाँकी रहेको उनले जानकारी दिए।

भारत सरकारले महिन्द्रा कम्पनीका स्कारपियो पिकअप र कार गरी दुई किसिमका सवारी साधन नेपाललाई उपलब्ध गराएको हो। माघ ४ गतेदेखि वीरगञ्ज नाकाबाट सवारी साधन नेपाल भित्रिन थालेका छन् भने ती सवारी क्रमशः भन्सार प्रक्रिया पूरा गरी राजधानी काठमाडौं तथा अन्य गन्तव्यतर्फ पठाइँदै आएको रसाइलीले बताए।

यी सवारी साधन आगामी प्रतिनिधिसभा निर्वाचनका क्रममा सुरक्षाकर्मी तथा निर्वाचन व्यवस्थापन प्रयोजनमा प्रयोग गरिने जनाइएको छ।


सम्बन्धित समाचार