Logo

२६ माघ, वीरगञ्ज । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा फेरबदल आएसँगै तराई मधेशका जिल्लाहरूमा बाक्लो हुस्सु लाग्न थालेको छ । विशेषगरी पर्साको वीरगञ्ज र आसपासका क्षेत्रमा सोमबार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण स्थानीय जनजीवन कष्टकर बनेको छ ।

हुस्सुका कारण भिजिविलिटी (दृश्यता) कम हुँदा वीरगञ्ज भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनहरू प्रभावित भएका छन् । सडकमा गुड्ने गाडीहरूले ‘फग लाइट’ बालेर सुस्त गतिमा गुड्नु परेको छ भने हुलाकी राजमार्ग र त्रिभुवन राजपथमा सवारी चाप कम देखिएको छ। बिहानीपख विद्यालय जाने विद्यार्थी, मजदुर र दैनिक उपभोग्य वस्तुको व्यापार गर्ने स्थानीयहरूलाई चिसोले बढी सताएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भूभागमा बिहानीपख हुस्सु र कुहिरोको प्रभाव रहने देखिएको छ। पहाडी भेगमा पनि बादल देखिन थालेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा नै रहेको महाशाखाले जनाएको छ।

सोमबारको मौसमबारे महाशाखाको बुलेटिनमा उल्लेख छ:

“सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। तराईमा लाग्ने हुस्सु र कुहिरोका कारण जनजीवन र यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना छ।”

मौसमविद्हरूका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्य भूभागको मौसम मुख्यतया सफा रहने भए पनि न्यूनतम तापक्रममा आउने गिरावट र शीतलहरको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ ।

चिसो बढ्ने क्रम जारी रहेकाले बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई विशेष ख्याल गर्न र न्यानो लुगा लगाउन चिकित्सकहरूले समेत आग्रह गरेका छन् ।


सम्बन्धित समाचार