Logo

२६ माघ, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन हुन अब २४ दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् भने निर्वाचन आयोगले आफ्नो ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ केन्द्रित गरेको छ । आम मतदातालाई निर्वाचन प्रक्रिया, मताधिकार प्रयोग र सही मत संकेतबारे जानकारी गराउने उद्देश्यले आयोगले देशव्यापी मतदाता शिक्षा अभियानलाई तीव्र बनाएको हो ।

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यक्रम कार्यान्वयनका लागि जिल्ला निर्वाचन कार्यालयमार्फत कर्मचारी र स्वयंसेवक परिचालन गरिनेछ । आयोगले २३ हजारभन्दा बढी मतदान अधिकृत तथा सम्बन्धित कर्मचारी परिचालन गरी मतदाता शिक्षा सञ्चालन गर्ने तयारी गरेको छ । साथै, स्वास्थ्य स्वयंसेविकालाई समेत अभियानमा सहभागी गराउने योजना रहेको आयोगले जनाएको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । “मतदातालाई मतदान प्रक्रिया, मत संकेत गर्ने तरिका र मताधिकारबारे सचेत गराउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो,” उनले बताए ।

निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममार्फत पनि निरन्तर सचेतनामूलक सामग्री प्रसारण गरिरहेको जनाएको छ । सामाजिक सञ्जाल, अनलाइन माध्यम र सञ्चार संस्थामार्फत मतदातालाई सही तथा वास्तविक सूचना प्रदान गर्ने, मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि गर्ने र मत बदर हुने अवस्थालाई न्यून गर्ने उद्देश्य राखिएको छ ।

आयोगले प्रभावकारी मतदाता शिक्षाले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको छ, जसअन्तर्गत प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।


सम्बन्धित समाचार