Logo

२६ माघ, काठमाडौँ । आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहायक निरीक्षक (असई) बताउँदै विभिन्न व्यक्तिलाई लाखौँ रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा घर भई हाल कविलासी नगरपालिका बस्ने ३५ वर्षीया निर्मला महतो रहेकी छिन् ।

नेहा, निशा र पुनम कुमारी जस्ता विभिन्न उपनाम प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएकी उनले भन्सारका कर्मचारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको र सस्तोमा लिलामीको स्कारपियो गाडी मिलाइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई जालमा पार्ने गरेको खुलेको छ ।

उनले ठगी कार्यलाई आधिकारिकता दिन सर्लाहीका राजेश्वर साहकी श्रीमती पुनम कुमारीको नागरिकता र फोटो दुरुपयोग गरी आफ्नै नाममा राष्ट्रिय परिचयपत्र समेत बनाएकी थिइन्। सोही नक्कली परिचयपत्रका आधारमा माछापुच्छ्रे बैंकमा खाता खोलेर उनले नक्कली हस्ताक्षर गरी चेक दिने र आपराधिक लाभ लिने गरेको अनुसन्धानबाट देखिएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार निर्मलाले चन्द्रपुरस्थित एक ज्वेलर्सबाट २ लाख ७४ हजार रुपैयाँ बराबरको सुनचाँदी उधारो लगेर नतिरेको, घरायसी समस्या देखाएर एक व्यक्तिबाट ५ लाख रुपैयाँ सापटी लिएको र किराना पसल तथा गाडी भाडा बापत १ लाख २६ हजार रुपैयाँ ठगी गरेको फेला परेको छ । उनले विश्वास दिलाउन आफू प्रहरी अधिकारी भएको झुठो परिचय दिने गरेकी थिइन् ।

गत माघ ४ गते चन्द्रपुरबाट पक्राउ परेकी उनले सुरुमा आफ्नो वास्तविक पहिचान लुकाउन सफल भए पनि प्रहरीको सूक्ष्म अनुसन्धानपछि मात्र सत्य बाहिर आएको हो । डीएसपी रुपा लाबुङका अनुसार विभिन्न कागजात र बैंक खाताको विस्तृत अध्ययनपछि उनको वास्तविक परिचय खुलेको हो । हाल उनीमाथि ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार