२६ माघ,मुस्ताङ । माथिल्लो मुस्ताङको कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ। लोमान्थाङ–४ छोसेरस्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल तथा इलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस्ती टोलीले एक लाख १७ हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि मुस्ताङ भन्सार कार्यालयको जिम्मा लगाइएको छ।
यसअघि पनि कोरला नाकाबाट ठूलो परिमाणमा अवैध सामान बरामद हुँदै आएको छ। गत पुस २७ गते कोरला नाकामा रोकिराखिएको मालबाहक कन्टेनरबाट दुई करोड २४ लाख रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो। त्यस्तै, पुस २० गते जोमसोमतर्फ लुकाइछिपाई ल्याउँदै गरेको छ करोड ८१ लाख रुपैयाँ बराबरको अवैध भेपसमेत सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।
हिउँदयाममा सीमावर्ती क्षेत्रमा अवैध क्रियाकलाप बढ्ने भएकाले सुरक्षाकर्मीले नाकासहित आसपासका क्षेत्रमा निरन्तर गस्ती तथा निगरानी बढाएका छन्।
















