Logo

 २६ माघ,काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारलाई छुट्टै बैंक खाता सञ्चालन गर्न अनिवार्य गरेको व्यवस्था धनकुटामा पूर्णरूपमा पालना नहुँदा चासो बढेको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार धनकुटामा १७ जना उम्मेदवारमध्ये ७ जनाले बैंक खाता सञ्चालनका लागि सिफारिस नै लिएका छैनन्। उनीहरू हुन्– नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बाल कुमार ताम्ली, जनता समाजवादी पार्टीका निशान राई, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बू, मंगोल नेशनल अर्गनाइजेसनका सागर राई र स्वतन्त्र उम्मेदवार मनकुमार योञ्जन।

निर्वाचन आयोगले उम्मेदवारको निजी खाताबाट नभई मात्रै छुट्टै बैंक खाताबाट आर्थिक सहयोग र चन्दा संकलन गर्न सक्ने व्यवस्था गरेको छ। यसैअनुसार बाँकी १० जनाले खाता खोल्न सिफारिस लिइसकेका छन्। उनीहरूमा राप्रपाका विभत्सु थापा, आम जनता पार्टीका प्रेमबहादुर थापा, नेपाली कांग्रेसका दिनेश राई, नेकपा एमालेका राजेन्द्र कुमार राई, नेकपा माओवादीका रविन कुमार राई, राष्ट्रिय परिवर्तन पार्टीका सालिकराम राई, श्रम संस्कृति पार्टीका सानबहादुर राई र स्वतन्त्र उम्मेदवार जितेन्द्र राई तथा लाक्पा तामाङ रहेका छन्।

धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सर्वदलीय बैठकमा सबै दल र स्वतन्त्र उम्मेदवारलाई चाँडै बैंक खाता खोल्न र सबै आर्थिक कारोबार बैंकमार्फत मात्र गर्न निर्देशन दिएका छन्।

निर्वाचन आयोगले यसपटक उम्मेदवारले खोलेका बैंक खातामा आफ्नै निजी खाताजस्तो पूर्ण अधिकार नहुने व्यवस्था गरेको छ। आयोग र अनुगमन अधिकृतहरूले निगरानी गर्नेछन् र आचारसंहिता वा निर्वाचन कानून उल्लङ्घन भए तत्काल कारोबार रोक्न सक्नेछन्।

देशभर उम्मेदवारले निर्वाचन खर्चका लागि प्रति व्यक्ति २५ देखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने आयोगले तोकेको छ। खाताहरू निर्वाचन सकिएको ३५ दिनभित्र बन्द गर्नुपर्ने र विवरण ६ वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ।


सम्बन्धित समाचार