२६ माघ,रौतहट । गरुडाका इलाका प्रहरी प्रमुख डीएसपी शंकरप्रसाद आचार्यमाथि कुटपिट र लुटपाटको जाहेरी दर्ता गर्न अस्वीकार गरेको आरोप लागेको छ। घटनापछि पीडित पक्षले प्रहरीको भूमिकामा प्रश्न उठाउँदै आइतबार पत्रकार सम्मेलन गरेका हुन्।
पम्प सञ्चालक राकेश चौधरीका अनुसार, गत माघ १५ गते राति गरुडा–६ शिवनगरस्थित आदर्श आयल स्टोरमा पेट्रोल भरेको पैसाको विषयमा एक समूहले आक्रमण गरेको थियो। आक्रमणमा वडा अध्यक्ष रामबाबु चौधरीका छोराहरू रञ्जित र रोहित घाइते भएका थिए। रञ्जितको नाकमा गम्भीर चोट लागेपछि काठमाडौंमा शल्यक्रियाको तयारी भइरहेको परिवारले जनाएको छ। घटना क्रममा ६५ हजार रुपैयाँ समेत लुटिएको पीडितले दाबी गरेका छन्।
पत्रकार सम्मेलनमा वडा अध्यक्ष रामबाबु चौधरीले डीएसपी आचार्यमाथि आरोप लगाउँदै भने, “नामै किटान गरेर डाँका तथा ज्यान मार्ने उद्योगको जाहेरी दिन खोज्दा पनि उहाँले ‘अभद्र व्यवहार’ को जाहेरी मात्र ल्याउन भन्नुभयो। घटना प्रहरी चौकीबाट मात्र ३० मिटरको दुरीमा भएको हो, तर सुरक्षा उपलब्ध गराउन सकिएन। अहिले प्रहरी अपराधीलाई जोगाउन खोजेको जस्तो देखिन्छ।”
तर, डीएसपी आचार्यमाथि लागेको आरोपको खण्डन गर्दै उनले भने, “सीसीटीभी फुटेजको अध्ययन भइरहेको छ। घटनामा लुटपाट वा ज्यान मार्ने उद्देश्य स्पष्ट देखिएको छैन। जाहेरी नै नआएकोले मुद्दा दर्ता हुन सकेको छैन। आरोप प्रमाणित गर्नु चुनौतीपूर्ण हुनेछ।”
यस घटनाले स्थानीय स्तरमा प्रहरीको सक्रियता र सुरक्षा व्यवस्थाप्रति सवाल उठाएको छ। पीडित पक्षले सरकारी निकायसँग उचित छानबिन र कानुनी कदम चाल्न माग गरेका छन्।
















