२६ माघ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सोमबार बिहान सशस्त्र प्रहरीको छापा मार्दा तस्कर समूहले आक्रमण गर्दा ३ जना प्रहरी घाइते भएका छन्।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साको सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो। सो क्रममा अवैध रूपमा भण्डार गरिएको करिब ७ लाख मूल्य बराबरको कपडा बरामद गरिएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिँदै भने, “कपडा बरामद भएपछि तस्कर समूहले ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेको थियो। यसमा हाम्रो एउटा वानटन र एउटा स्कार्पियो गाडीमा क्षति पुगेको छ भने ३ जना प्रहरी घाइते भएका छन्।”
घाइते प्रहरीहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको र घटनामा संलग्न तस्करहरूको खोजी तथा पक्राउ गर्न टोली सक्रिय रहेको बताइएको छ।
















