२६ माघ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
राष्ट्रपतिले यस अवसरमा नेपाल र बेलायतबीचको ऐतिहासिक र घनिष्ठ सम्बन्धको चर्चा गर्दै विकास, मानव कल्याण र शान्ति सम्बन्धी अन्तर्राष्ट्रिय मञ्चमा भएको सहकार्यको प्रशंसा गर्नुभयो। साथै, दुवै देशले राष्ट्रसंघीय शान्ति सेनाको माध्यमबाट विश्वशान्ति स्थापनामा समान दृष्टिकोण राख्ने बताएका छन्।
राष्ट्रपतिले ब्रिटिश गोर्खाले दुई देशबीचको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै, बेलायतमा नेपालीको उपस्थिति जनस्तरको सम्बन्ध अझ बलियो बनाउन सहयोगी भएको बताए। उनले पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासाहरू कूटनीतिक तहमा छलफल भइरहेको र छिट्टै समाधान हुने अपेक्षा व्यक्त गर्नुभयो।
साथै, राष्ट्रपति पौडेलले गोर्खा ब्रिगेडको सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा बेलायत सरकारप्रति धन्यवाद ज्ञापन गर्दै प्रतिवेदन सम्बन्धित निकायहरूले अध्ययन गर्ने बताए।
यसै अवसरमा मेजर जेनरल स्ट्रिकलेण्डले ब्रिटिश गोर्खा सेनाले सधैं अग्रपंक्तिमा रहेर सेवा गरेको उल्लेख गर्दै, गोर्खा जवानहरूलाई “नेपालका छोरा–छोरी” को रूपमा सम्झिने गरेको बताए। उनले बेलायती जनताले गोर्खा नेपालीप्रति सम्मान र माया व्यक्त गर्ने गरेको पनि जानकारी दिए।
नेपालस्थित बेलायती राजदूत रव फेनको पनि यस भेटमा उपस्थिति थियो।
















