२६ माघ,काठमाडौं । वैदेशिक रोजगारीको बहानामा ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले आकर्षक तलबको प्रलोभन देखाएर युवाहरूलाई विदेश पठाइदिने भन्दै ठूलो रकम असुल गरेको देखिएको छ।
पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने कीर्तिपुर–२ घर भएकी ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, काठमाडौँ चन्द्रागिरी–१४ बस्ने बागलुङ काठेखोला–२ घरकी ४३ वर्षीया कोपिला शर्मा, काठमाडौँ–२६ बस्ने धनकुटा नगरपालिका–२ घरका ३१ वर्षीय सन्तोष राई र काठमाडौँ बुढानिलकण्ठ–११ बस्ने काभ्रे चौँरीदेउरी–९ घरकी ४८ वर्षीया कुमारी तामाङ रहेका छन्।
प्रहरीका अनुसार विना र विन्दाले अमेरिका पठाइदिने भन्दै एक पीडितबाट १० लाख रुपैयाँ, कोपिलाले बेलायत पठाइदिने भन्दै १३ लाख रुपैयाँ, सन्तोषले कम्बोडिया पठाइदिने भन्दै ३ लाख ७० हजार रुपैयाँ र कुमारीले पोर्चुगल पठाइदिने भन्दै १३ लाख ६० हजार रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि उनीहरूले सम्पर्कविहीन बनेपछि पीडितले उजुरी दिएका थिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले खटाएको टोलीले विना र विन्दालाई काठमाडौँ–११ बाट, कुमारीलाई काठमाडौँ–४ बाट, कोपिलालाई चन्द्रागिरी–१४ बाट र सन्तोषलाई काठमाडौँ–२६ बाट पक्राउ गरेको जनाएको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।
















