२६ माघ,काठमाडौं ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब घरघरमा खाना पकाउने ग्यास सिलिन्डरको आवश्यकता बिना पाइपमार्फतै पुर्याउन सकिने बताएका छन्। सोमबार झापामा मतदातासँगको घरदैलो क्रममा ओलीले ग्यासको स्थानीय उत्पादन बढाएर विदेशबाटको आयात रोक्न सकिने योजना प्रस्तुत गरे।
ओलीले दैलेखमा रोकिएको ग्यास उत्खनन् तत्काल सुरु गर्नुपर्ने बताए। उनका अनुसार, “अहिले त्यहाँ ग्यास निकाल्न छाडेर ताला लगाइएको छ। त्यसलाई तत्काल उत्खनन गरेर घरघरमा पाइपमार्फत पुर्याउन सकिन्छ। यसका लागि सिलिन्डरको आवश्यकता पर्दैन। पानीजस्तो ट्यांकमा राखेर वितरण गर्न सकिन्छ।”
उनी झापामा चुनावी घरदैलो अभियानमा व्यस्त छन् र यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका छन्।
अघिल्लो विवादित अभिव्यक्तिका विषयमा ओलीले स्पष्टीकरण दिँदै भने, “संस्कृति बचाउनुपर्छ, गरिबी हटाउनुपर्छ। मेरो अभिव्यक्तिले कसैलाई अपमान गर्ने उद्देश्य थिएन। अब दाउरा वा गुइँठा बाल्ने होइन, आधुनिक प्रविधि र बिजुलीतर्फ ध्यान दिनुपर्छ।”
ओलीको यो नयाँ ऊर्जा र विकास सम्बन्धी योजना स्थानीय निर्वाचन क्षेत्रमा उनले आफ्नो अभियानलाई मजबुत बनाउने रणनीतिसँग जोडिएको देखिन्छ।
















