Logo

२६ माघ,काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा नवजात शिशु, शिशु र पाँच वर्षमुनि बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रहेको पाइएको छ।

सर्वेक्षणका अनुसार, नेपालमा हरेक १,००० जीवित जन्मका एक वर्ष नपुग्दै करिब २७ शिशुको मृत्यु हुने गरेको छ। पाँच वर्षमुनिका बालबालिकामा प्रतिहजार ३१ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। नवजात शिशु (एक महिनाभित्र) मा प्रतिहजार १७ शिशुको मृत्यु हुने गरेको पाइएको छ।

प्रदेशअनुसार हेर्दा, नवजात शिशु मृत्युदर सुदूरपश्चिममा २६, बागमतीमा १० रहेको छ। शिशु मृत्युदर सुदूरपश्चिममा ३८, बागमतीमा १७ रहेको छ। पाँच वर्षमुनिका बालबालिकामा सबैभन्दा बढी मृत्युदर सुदूरपश्चिममा प्रतिहजार ४८, सबैभन्दा कम गण्डकी प्रदेशमा प्रतिहजार २० रहेको तथ्यांकमा देखिएको छ।

सर्वेक्षणले देखाएको छ कि शहरी क्षेत्रमा नवजात शिशु मृत्युदर प्रतिहजार १६, जबकि ग्रामीण क्षेत्रमा १९ रहेको छ। एक वर्षमुनिका शिशुको मृत्युदर शहरमा २६ र ग्रामीण भेगमा २७ रहेको छ। पाँच वर्षमुनिका बालबालिकामा यो दर शहरमा ३१ र ग्रामीण क्षेत्रमा ३० रहेको छ।

बालक र बालिकाको आधारमा हेर्दा, सबै उमेर समूहमा बालकको मृत्युदर बढी रहेको पाइएको छ। नवजात बालकको मृत्युदर प्रतिहजार १८, बालिकाको १५ रहेको छ। शिशु बालक २७ र बालिका २६, पाँच वर्षमुनिका बालक ३१ र बालिका ३० रहेको तथ्यांकमा देखिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यो सर्वेक्षण महिला र बालबालिकाको अवस्थाको अनुगमन, मूल्यांकन र योजना निर्माणका लागि राष्ट्रिय र क्षेत्रीय स्तरमा तुलनायोग्य तथ्यांक उपलब्ध गराउने उद्देश्यले गरिएको हो।

सर्वेक्षणमा नेपालभरका ५४० क्लष्टरबाट १२,९६० परिवारको तथ्यांक संकलन गरिएको थियो। दीगो विकास लक्ष्य अनुसार नवजात शिशु मृत्युदर प्रतिहजारमा १२ वा कम, र पाँच वर्षमुनिको बालमृत्युदर २५ वा कममा झार्न विश्वव्यापी लक्ष्य राखिएको छ।


सम्बन्धित समाचार