Logo

२६ माघ,काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ अनुसार नेपालमा करिब ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ।

प्रदेश अनुसार, गण्डकी प्रदेशमा सबैभन्दा बढी ९९.५ प्रतिशत घरपरिवारमा निरन्तर विद्युत् सेवा उपलब्ध रहेको देखिएको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ८०.८ प्रतिशत घरपरिवारमा मात्रै सेवा पुगेको तथ्याङ्क देखिएको छ।

सहर र ग्रामीण क्षेत्रको तुलना गर्दा, सहरमा ९८.२ प्रतिशत घरपरिवारमा निरन्तर विद्युत् सेवा पुगेको देखिन्छ। ग्रामीण क्षेत्रमा यो दर ९३.७ प्रतिशत रहेको छ। प्रदेश अनुसार कोशीमा ९७.२ प्रतिशत, मधेसमा करिब ९८ प्रतिशत, काठमाडौं उपत्यकामा करिब शतप्रतिशत र कर्णालीको ग्रामीण क्षेत्रमा ७४.८ प्रतिशत घरपरिवारमा मात्र सेवा पुगेको सर्वेक्षणले देखाएको छ। सुदूरपश्चिममा ७८.२ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ।

त्यस्तै, टेलिफोन सुविधा (स्थिर वा मोबाइल) घरपरिवारमा पुग्ने दर ९५.५ प्रतिशत रहेको छ। सबैभन्दा बढी बागमती प्रदेशमा ९७.१ प्रतिशत घरपरिवारमा यो सुविधा पुगेको देखिन्छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ९२.६ प्रतिशत घरपरिवारले टेलिफोन पहुँच पाएको तथ्याङ्क छ।

सर्वेक्षणका लागि नेपालभरि ५४० क्लस्टर (गणना क्षेत्र) छानिएको थियो, जसमा ३ सय ४ सहरी र २ सय ३६ ग्रामीण क्षेत्रका क्लस्टर रहेका थिए। प्रत्येक क्लस्टरबाट २४ घरपरिवारको विवरण संकलन गरी कुल १२,९६० घरपरिवारको तथ्यांक संकलन गरिएको थियो।


सम्बन्धित समाचार