Logo

२६ माघ,काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका घटना छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद फेरि थप्ने तयारी गरेको छ।

सोमबार अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले आयोगको म्याद तेस्रो पटक थप्ने निर्णय गर्न सक्ने देखिन्छ।

सरकारले गत असोज ५ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिनका लागि विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो। सुरुमा तीन महिनाको समय तोकिए पनि आयोगले निर्धारित समयमा काम सक्न सकेन।

यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद एक महिनाका लागि थपेको थियो। तर, काम नसकिएपछि माघ ८ गते आयोगको म्याद पुनः २० दिन थपिएको थियो। उक्त म्याद बुधबार (माघ २८) सकिँदैछ।

अब मन्त्रालय स्रोतका अनुसार म्याद थप्ने निश्चित भए पनि, कति समय थपिने भन्ने भने अझै टुंगो लागेको छैन।

पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्।


सम्बन्धित समाचार