Logo

 २६ माघ,काठमाडौं ।लामो समयदेखि रोकिएको बाँकी स्मार्ट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) को छपाइ कार्य अब पुनः सुचारु हुने भएको छ। ‘जेन–जी’ आन्दोलनपछि अति आवश्यक बाहेकका लाइसेन्स छपाइ रोकिएको भए पनि अब सबै प्रकारका लाइसेन्स क्रमशः छपाइमा जाने भएका छन्।

यातायात व्यवस्था विभागले गत शुक्रबार स्मार्ट लाइसेन्स छपाइ गर्दै आएको सुरक्षण मुद्रण केन्द्रलाई एकै पटक २ लाख लाइसेन्सको तथ्याङ्क पठाएको छ। यसअघि विभागले वैदेशिक रोजगारी, अध्ययन, शान्ति मिसन तथा अति आवश्यक प्रमाण पेस गर्नेहरूको लाइसेन्स मात्र छपाइका लागि पठाउँदै आएको थियो।

जेन–जी आन्दोलनअघि लाइसेन्स छपाइ गर्ने मेसिन विभागकै स्वामित्वमा रहे पनि आन्दोलनका क्रममा मेसिनमा क्षति पुगेपछि मर्मत हुन सकेन। त्यसपछि विभागले सुरक्षण मुद्रण केन्द्रसँग ‘जी–टु–जी’ (सरकार–देखि–सरकार) सम्झौता गरी छपाइ कार्य गराउँदै आएको छ।

विभागसँग आफ्नै मेसिन हुँदा अति आवश्यक लाइसेन्स आवेदन दिएकै दिन वा भोलिपल्टै छपाइ हुने गरे पनि हाल केन्द्रमार्फत छपाइ गर्दा १० देखि १५ दिन लाग्ने गरेको छ। विभागले कम्तीमा १ हजार अति आवश्यक आवेदन संकलन भएपछि मात्र छपाइका लागि पठाउने गरेको जनाएको छ।

यातायात व्यवस्था विभागका सूचना प्रविधि (आईटी) निर्देशक केशव खतिवडाले अब अति आवश्यकसँगै बाँकी रहेका अन्य लाइसेन्सको पनि छपाइ सुरु भएको जानकारी दिए। उनका अनुसार नयाँ ट्रायल पास गरेका र लाइसेन्स नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीहरूको लाइसेन्स अब छपाइ हुनेछ।

खतिवडाले भने, “जेन–जी आन्दोलनपछि अहिलेसम्म अति आवश्यक लाइसेन्स मात्र छपाइ भइरहेको थियो। अहिले २ लाख लाइसेन्सको तथ्याङ्क केन्द्रलाई पठाइसकेका छौँ। ती छपाइ भएर आएपछि पुनः अर्को चरणको तथ्याङ्क पठाइनेछ।” केन्द्रले १५ दिनभित्र लाइसेन्स छापेर पठाउने जानकारी दिएको उनले बताए।

हाल नयाँ ट्रायल पास गरेका र नवीकरणका लागि आवेदन दिएका गरी ३० लाखभन्दा बढी लाइसेन्स छपाइ हुन बाँकी छन्। लाइसेन्स छपाइको अधिकार प्रदेश सरकारलाई दिइए पनि हालसम्म कुनै पनि प्रदेशले छपाइ सुरु नगरेकाले विभागले नै यो काम गर्दै आएको छ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभागबाट २ लाख लाइसेन्सको तथ्याङ्क प्राप्त भएको पुष्टि गर्दै सम्झौताअनुसार कुल १२ लाख लाइसेन्स छपाइ गर्ने प्रक्रिया अघि बढिरहेको बताए।

विभागका अनुसार पहिलो चरणमा अनलाइन प्रणाली लागू भएपछि ट्रायल पास गरेका तथा नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीहरूको लाइसेन्स छपाइ हुँदैछ। डाटा माइग्रेसनका क्रममा पुराना विवरणमा समस्या देखिएकाले अनलाइन प्रणालीबाट आएका शुद्ध विवरणका आधारमा छपाइ सुरु गरिएको हो।

पहिलो चरणमा इलाम, पोखरा, वीरगञ्ज, हेटौँडा र काठमाडौंका यातायात कार्यालयका करिब २ लाख लाइसेन्स छपाइका लागि केन्द्रमा पठाइएको विभागले जनाएको छ।


सम्बन्धित समाचार