Logo

२७ माघ, वीरगञ्ज । नेपालको राजनीतिमा मधेस सधैँ निर्णायक शक्तिका रूपमा रहँदै आएको छ। मधेसका आठ जिल्लामध्ये पर्साको आफ्नै रणनीतिक र व्यापारिक महत्त्व छ। आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ यतिबेला राजनीतिक कुरुक्षेत्र मा परिणत भएको छ।

ठोरीको जङ्गलदेखि पकाहा मैनपुरको समथर भूभागसम्म फैलिएको यो क्षेत्रमा यसपटक पुराना ‘ह्याभीवेट’ नेताहरूको विरासत जोगाउने दाउ र नयाँ उदीयमान शक्तिहरूको ‘छिर्के’ हाल्ने रणनीतिबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। मुख्यतः नेपाली कांग्रेसका अनुभवी नेता एवं पूर्वमन्त्री रमेश रिजाल र नेकपा (एमाले) का जालिम मियाँ मन्सुरीको परम्परागत वर्चस्वलाई नेकपाका जयप्रकाश थारु र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का टेकबहादुर शाक्यको उदयले गम्भीर चुनौती दिएको छ।

विगतको विरासत र बदलिँदो समीकरण

पर्सा क्षेत्र नम्बर ४ ऐतिहासिक रूपमा लोकतान्त्रिक र वामपन्थी शक्तिहरूको मुख्य प्रतिस्पर्धा हुने क्षेत्र हो। २०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसका रमेश रिजाल ३१,२२४ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जालिम मियाँ मन्सुरीले २५,६७१ मत ल्याएका थिए। त्यसबेलाको ५,५५३ को मतान्तर अहिलेको बदलिँदो राजनीतिक समीकरणमा निकै सानो देखिन्छ।

यस क्षेत्रको समानुपातिक मतको आधारलाई हेर्दा कांग्रेस (२१,१२५ मत) र एमाले (१८,६३४ मत) मुख्य शक्तिका रूपमा देखिएका थिए। तर, यसपटक ‘जेन–जी’ (Gen-Z) आन्दोलनपछि कांग्रेस र एमालेलाई युवा पंक्तिले हेर्ने दृष्टिकोण बदलिएको छ भने रास्वपाले पहाडी क्षेत्रमा आफ्नो उपस्थिति जबरजस्ती बढाउँदै लगेको देखिन्छ।

कांग्रेस, एमालेका लागि “खतराको घण्टी”

यसपटकको निर्वाचनमा सबैभन्दा बढी चर्चा र ‘सरप्राइज’ दिने पात्रका रूपमा जयप्रकाश थारु उदाएका छन्। नेकपा (एमाले) का पूर्व जिल्ला अध्यक्ष र संविधानसभा सदस्य जस्तो वजनदार छवि बनाएका थारुले ऐन मौकामा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिएपछि एमालेको क्याम्पमा खैलाबैला मच्चिएको छ।

यस क्षेत्रमा थारु समुदायको मत निर्णायक मानिन्छ। थारुको व्यक्तिगत पकड र एमालेको संगठनात्मक संरचनामा उनको लामो अनुभवले गर्दा एमालेको “कोर भोट” मा ठूलो क्षति पुग्ने निश्चित छ। २०७९ मा माओवादीले यहाँ जम्मा ३,९८२ समानुपातिक मत ल्याएको थियो। थारुको आगमनले यो मतमा उल्लेख्य उछाल आउने र एमालेका असन्तुष्ट कार्यकर्ताहरूको साथ पाउने देखिएपछि जालिम मियाँ मन्सुरीको जित्ने सम्भावना कमजोर बन्दै गएको विश्लेषण गर्न थालिएको छ।

नेपाली कांग्रेसका रमेश रिजाल सातौँ पटक चुनावी मैदानमा छन्। उनीसँग कांग्रेसको बलियो संगठन त छ, तर मन्त्री हुँदा जनताको पक्षमा ठोस काम गर्न नसकेको आक्रोश आम मतदातामा देखिन्छ। सत्तामा रहँदा पनि क्षेत्र नं. ४ का जनताका लागि कृषि, सडक, सिँचाइ र खानेपानी जस्ता आधारभूत आवश्यकता पूरा गर्न नसकेको आरोप उनीमाथि छ। भूमिहीन र सुकुम्वासीका लागि लालपूर्जा वितरण गर्ने नारा कागजमै सीमित भएको गुनासो मतदाताको छ।

अर्कोतर्फ, एमालेका जालिम मियाँ मन्सुरी अघिल्लो हारको बदला लिन चाहन्छन्। तर, आफ्नै पूर्वसहकर्मी जयप्रकाश थारुको विद्रोहले उनलाई “घरभित्रकै आगो” निभाउन कठिन भइरहेको छ। जालिमले मुस्लिम समुदायमा धार्मिक साम्प्रदायिक कार्ड प्रयोग गरेर भोट बटुल्न खोजेको आरोप अन्य उम्मेदवारहरूले लगाएका छन्। उनको विगतको राजनीतिक र सामाजिक चरित्र बुझेका जनताले उनलाई सजिलै विश्वास गरिहाल्ने अवस्था देखिँदैन।

नेकपाको पृष्ठभूमिबाट रास्वपा प्रवेश गरेका टेकबहादुर शाक्य पेसाले व्यापारी हुन्। २०७९ मा रास्वपाले यहाँ जम्मा १,९४८ समानुपातिक मत पाएको थियो। तर, फेरिएको राष्ट्रिय राजनीति र नयाँ पुस्ताको विद्रोहले गर्दा शाक्यको “घण्टी” ले यसपटक युवा मत तान्ने देखिन्छ।

नेपाली कांग्रेस ठोरीका अध्यक्ष सन्तोष श्रेष्ठ नै रास्वपा प्रवेश गरेपछि कांग्रेसको मत घण्टीमा जाने पक्का छ। शाक्यको स्थायी घर ठोरी भए पनि उनी अधिकांश समय काठमाडौँमा बस्ने र अवसरको खोजीमा भौतारिने व्यक्तिको रूपमा चिनिन्छन्। उनलाई राजनीतिज्ञभन्दा पनि ‘खासा व्यापारी’ का रूपमा चित्रण गर्ने मतदाताले उनलाई कत्तिको विश्वास गर्छन् भन्ने कुरा रोचक हुनेछ।

जसपा (नेपाल) का उम्मेदवार कृपा सिन्धु चौधरीका लागि यो निर्वाचन अस्तित्वको लडाइँ हो। २०७९ मा जसपाले यहाँ ९,६४४ समानुपातिक मत ल्याएको थियो। तर, पार्टी विभाजन र जनमत पार्टीको सक्रियताले मधेसी भोट बाँडिएको छ। चौधरीले आफ्नो पुरानो मत सुरक्षित राख्न सके उनी हारजितको ‘किं–मेकर’ बन्न सक्छन्।

पर्सा–४ का मतदाता यतिबेला सचेत भएका छन्। ठोरीका जनताले पर्यटन र सडक खोजेका छन् भने पकाहा मैनपुरका किसानले समयमा मल र सिँचाइ मागेका छन्। मतदाताहरू सोधिरहेका छन्, “के निर्वाचन जितेपछि नेताहरू फेरि पाँच वर्षसम्म काठमाडौँमै हराउने हुन् ?”

पर्सा–४ को समग्र निर्वाचन समीक्षा गर्दा यसपटक कांग्रेसको संगठन, एमालेको विद्रोही मत, नेकपाको इमानदार छवि र रास्वपाको लहरबीच कडा भिडन्त हुने देखिन्छ। यदि जयप्रकाश थारुले एमालेको असन्तुष्ट भोट ३० प्रतिशत मात्रै काट्न सफल भए भने त्यसको प्रत्यक्ष फाइदा रमेश रिजाललाई पुग्न सक्छ। तर, यदि टेकबहादुर शाक्यले युवा मतमा “क्लीन स्वीप” गरे र जनमत पार्टीले ग्रामीण भोटमा हस्तक्षेप गरे नतिजा उल्टिएर नयाँ शक्तिको उदय हुन सक्छ। अन्ततः फागुन २१ को मतदानले नै फैसला गर्नेछ— जनताले पुरानै अनुभवी अनुहार रोज्छन् कि नयाँ विकल्पलाई अवसर दिन्छन्।


सम्बन्धित समाचार